कात्तिक १५, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि टिचिङ अस्पताल भर्ना गरिएको छ । इलाममा २५औं सत्याग्रह थालेका केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार बिहान उनलाई इलामबाट काठमाडौँ ल्याइएको हो । इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रह सुरु गरेका डा।केसीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति इलाम अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको भए पनि स्वास्थ्य अवस्थामा थप जटिलता देखिएपछि उनलाई सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्ने निर्णय गरिएको हो ।

इलाम अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा केसीको रगतमा ग्लुकोजको मात्रा अत्यधिक घटेको पाइएको थियो। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको रगतमा ग्लुकोजको मात्रा घटेर प्रतिडेसिलिटर ३५ मिलिग्रामसम्म पुगेको थियो ।
टाइप–२ मधुमेहका बिरामीसमेत रहेका केसीको पिसाबमा एसिटोनको मात्रा बढेको, रक्तचाप १००/६० रहेको र मुटुको चालमा समेत अनियमितता देखिएको चिकित्सकहरूले बताएका छन् । चिकित्सकहरूका अनुसार रगतमा ग्लुकोजको मात्रा अत्यधिक कम हुँदा शरीरका महत्त्वपूर्ण अंगहरूको कार्यक्षमतामा असर पर्न सक्छ । विशेषगरी मस्तिष्क र मुटुको कार्यप्रणाली प्रभावित हुने जोखिम रहन्छ ।
स्वास्थ्य अवस्था बिग्रँदै गएपछि चिकित्सकहरूले उनलाई तत्काल आवश्यक उपचार लिन आग्रह गरेका थिए । शरीरमा तरल पदार्थ दिइए पनि उनले ग्लुकोज लिन अस्वीकार गरिरहेको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ थियो । कैलालीको गेटा अस्पतालमा मेडिकल शिक्षा स्थगन गर्नुपर्नेलगायतको माग गर्दै उनले इलाममा अनशन थालेका थिए ।