भदौ १७, काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित गरिएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा उनीहरूसँग ऐक्यबद्धता जनाउन लिग स्थगित गर्ने निर्णय गरिएको जनाएको छ ।
यसअघि लिगको तेस्रो संस्करण आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना गर्ने घोषणा गरिएको थियो ।
नेपाल भलिबल संघबाट स्वीकृति पाएपछि आयोजकले प्रतियोगिताको तयारी औपचारिक रूपमा अघि बढाएको थियो । तेस्रो संस्करणमा कर्णाली यशविस, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज, पोखरा निन्जा र सुदूरपश्चिम रोयल वारियर्सले प्रतिस्पर्धा गर्ने तय भएको थियो । सुदूरपश्चिम रोयल वारियर्सले यस संस्करणमा नयाँ टोलीका रूपमा सहभागिता जनाउने भएको थियो ।
यसअघि २०२४ र २०२५ मा सम्पन्न लिगका दुवै संस्करण कर्णाली यशविसले जितेको थियो। दुवै संस्करणमा ललितपुर क्विन्स उपविजेता बनेको थियो ।
