साउन १७ , काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले तालिमको सफलता तत्काल मूल्याङ्कन गर्न नसकिने बताउँदै सहभागीहरूले सिकेका सीपलाई आफ्नो पेशा र आयआर्जनसँग जोड्न सकेमा मात्र त्यसको वास्तविक उपलब्धि देखिने बताएकी छन् ।

काठमाडौं महानगरपालिकाको सहयोग तथा चलचित्र विकास बोर्डको आयोजनामा जेठ २२ गतेदेखि असार २२ गतेसम्म सञ्चालन भएको ३० दिने ‘फोटोग्राफी तथा फोटो÷भिडियो पत्रकारिता तालिम’को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।
डंगोलले महानगरपालिकाले रोजगारी तथा आयवृद्धिसँग सम्बन्धित विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको उल्लेख गर्दै तालिम केवल सिकाइमा सीमित नभई व्यवहारिक प्रयोगमा आउनुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘यो एक महिने तालिम समापन भएको छ । कति सफल भयो भन्ने कुराको मापन आजको भोलि नै हुँदैन । यसको मापन आफ्नो पेशामा यहाँबाट सिकेका कुराहरू कति उपयोग गर्नुहुन्छ भन्ने कुराले देखाउँछ । काठमाडौं महानगरपालिकाले विभिन्न कार्यक्रममध्ये रोजगारी र आयवृद्धिसँग जोडिएको कार्यक्रमअन्तर्गत यो तालिम सञ्चालन गरेको हो । महानगरपालिकाले विभिन्न आयमूलक तालिमहरू दिइरहेको छ । तर ती तालिमहरू तालिमका लागि मात्र हुनुहुँदैन । तालिम लिएपछि प्रशिक्षार्थीहरूले आफ्नो जीवनमा त्यसको प्रयोग गर्नुपर्छ, आयसँग जोड्नुपर्छ । यसलाई केवल हबीका रूपमा होइन, व्यावसायिक रूपमा अघि बढाउनुपर्छ ।’
डंगोलले काठमाडौं महानगरपालिकाले चलचित्रलाई गन्तव्यका रूपमा नभई कला, संस्कृति र सम्पदाको प्रवद्र्धन गर्ने माध्यमका रूपमा लिएको पनि बताइन् ।
उनले भनिन्, ‘काठमाडौं महानगरले फिल्मको काम गर्छ भने चलचित्र विकास बोर्डले के काम गर्छ भन्ने प्रश्न पनि उठ्न सक्छ । तर काठमाडौं महानगरका लागि फिल्म डेस्टिनेसन होइन, माध्यम हो। हामीभित्र रहेका विभिन्न कला, संस्कृतिहरू, बाजागाजा, संगीत, लेख तथा थुप्रै कथाहरूलाई देखाउने, प्रस्फुटन गराउने र प्रवद्र्धन गर्ने माध्यम हाम्रो लागि फिल्म हो ।’
समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले बोर्ड काठमाडौं महानगरपालिकासँग सहकार्य गर्दै यस्ता सीपमूलक तालिमहरू सञ्चालन गर्न सधैं तयार रहेको बताए । उनले चलचित्र जगत सबैको भएकोले सेतुको रूपमा काम गर्न तत्पर रहेको बताए ।
उनले भने, ‘यस्ता खालका थुप्रै तालिमहरू काठमाडौं महानगरपालिकासँग मिलेर चलचित्र विकास बोर्ड गर्न तयार रहेको छ । चलचित्र जगत हाम्रै हो । हामी सेतुको रूपमा काम गर्न सधैं तयार छौं ।’
ा