• २०८३ असोज १५ गते बिहिवार

स्क्रब टाइफस : संक्रमणबाट जोगिन शरीर राम्ररी ढाक्ने कपडा लगाउन चिकित्सकको सुझाव

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

असोज १५, काठमाडौं । कुनैपनि रोग फैलिएपछि त्यसलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ । एक व्यक्तिबाट अर्कोमा संक्रमण सरेपछि नियन्त्रणमा लिन समय लाग्छ । स्क्रब टाइफस सल्यानको एउटा पालिकाबाट अर्को हुँदै सातवटा पालिकासम्म संक्रमण फैलिएको छ ।  सरुवा रोग तथा संक्रामक रोग विशेषज्ञ डा शेर बहादुर पुनले यस्तो संक्रमण फैलिएपछि सुरक्षित रहने उपाय खोज्नुपर्ने बताए । उनले भने, ‘यस्तबेला मुख्यगरी शरीर राम्ररी ढाक्ने कपडा लगाउनु हो । गाउँघरमा घाँस–दाउरा गर्दा संक्रमण बढी देखिनुको कारण पनि यही हो । तर यसको अर्थ सहरमा हुँदै हुँदैन भन्ने होइन । बच्ने उपाहरु खोज्नु नै उपयुक्त हुन्छ ।’

सल्यानमा पछिल्लो समय स्क्रब टाइफसका बिरामीको संख्या बढेपछि स्वास्थ्य तथा जनस्वास्थ्य निकायले निगरानी र उपचारलाई तीव्र बनाएका छन् । संक्रमण नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरिनुका साथै स्वास्थ्य सेवा विभागबाट विज्ञहरूको टोलीसमेत सल्यानतर्फ पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी बन्धना कुमारी केसीका अनुसार पछिल्लो तथ्यांकमा स्क्रब टाइफस संक्रमणको दर घट्दो क्रममा रहेको छ । उनका अनुसार हिजोसम्म करिब ४८० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रमुख जिल्ला अधिकारी केसीले संक्रमणको संख्यात्मक अनुपात घटिरहेको र स्वास्थ्यकर्मीहरू पर्याप्त मात्रामा परिचालन गरिएको बताइन् । औषधिको आपूर्तिसमेत सहज रहेकाले हाल आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘हालसम्मको अवस्था हेर्दा संक्रमणको संख्यात्मक अनुपात घट्दो क्रममा छ । हिजोसम्मको तथ्यांकअनुसार करिब ४८० जनामा मात्र संक्रमण पुष्टि भएको छ । हाम्रो स्वास्थ्य टोलीका अनुसार संक्रमण दर घटिरहेको छ र आगामी एक हप्ताभित्र यो पूर्ण रूपमा नियन्त्रणमा आउने अनुमान गरिएको छ ।’

यसै विषयलाई विशेष रूपमा सम्बोधन गर्न स्वास्थ्य सेवा विभागबाट विज्ञहरूको टोली नेपालगञ्ज पुगेको छ । उक्त टोलीले संक्रमणको अवस्था, उपचार तथा नियन्त्रणका उपायबारे स्थलगत अध्ययन गर्ने बताइएको छ । टोली भोलि दिउँसो १२ बजेसम्म सबैभन्दा पहिले संक्रमण देखिएको दार्मा गाउँपालिका पुग्ने केसीले बताइन

के हो स्क्रब टाइफस ?

सरुवा रोग तथा संक्रामक रोग विशेषज्ञ डा.पुनका अनुसार स्क्रब टाइफस ओरिएन्सिया सुसुगामुसी नामक ब्याक्टेरियाका कारण हुने संक्रमण हो । यो ब्याक्टेरिया ‘चिगर माइट’ नामक एक प्रकारको किर्नाको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।

डा. पुनका अनुसार नेपालमा स्क्रब टाइफस विगतदेखि नै देखिँदै आए पनि २०७२ सालको भूकम्पपछि यसको संक्रमण उल्लेख्य रूपमा देखिन थालेको हो । पछिल्लो समय विशेषगरी बर्खायाममा यसको संक्रमण बढी देखिने गरेको उनले बताए ।

सल्यानमा अहिले छोटो समयमै धेरै मानिसमा संक्रमण देखिनु र केहीको मृत्यु भएको विवरण सार्वजनिक हुनु चिन्ताको विषय भएको डा. पुनको भनाइ छ ।

उनका अनुसार संक्रमित भएको करिब २० दिनपछि स्क्रब टाइफसका लक्षण देखिन सुरु हुन सक्छन् । सामान्यतया ज्वरो आउने, आँखा हल्का रातो हुने र श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखिन सक्छन् ।

त्यसका साथै शरीरमा ‘स्कार’ अर्थात् कालो पाप्रा जस्तो घाउ देखिनु स्क्रब टाइफसको महत्वपूर्ण संकेत हुनसक्ने डा. पुनले बताए । ज्वरोसँगै शरीरमा यस्तो कालो पाप्रा देखिएमा स्क्रब टाइफसको सम्भावना हुने भए पनि संक्रमण पुष्टि गर्न परीक्षण आवश्यक हुने उनको भनाइ छ । समयमै उपचार हुन नसके संक्रमण जटिल बन्दै निमोनिया हुनुका साथै शरीरका विभिन्न अंगमा असर पार्न सक्ने र ‘मल्टी–अर्गन फेलियर’सम्म हुनसक्ने डा. पुनले बताए ।

समयमै उपचार गरे निको हुन्छ

डा. पुनका अनुसार स्क्रब टाइफसको उपचार सामान्यतया सहज छ । संक्रमणलाई समयमै पहिचान गरेर आवश्यक एन्टिबायोटिकको कोर्स पूरा गरेमा बिरामी पूर्ण रूपमा निको हुन सक्ने उनले बताए ।

उनले आरडीटी किटलगायत परीक्षणको प्रयोग बढाएर संक्रमितको छिटो पहिचान गर्नुपर्नेमा जोड दिए । लक्षणका आधारमा समयमै शंका गरी उपचार सुरु गर्न सके जटिलता रोक्न सकिने उनको भनाइ छ ।

कसरी बच्ने ?

स्क्रब टाइफसबाट बच्न वातावरणीय तथा व्यक्तिगत सावधानी महत्वपूर्ण हुने डा. पुनले बताए । उनका अनुसार चिगर माइट मुसासँग सम्बन्धित वातावरणमा बढी पाइने भएकाले घर तथा वरपर मुसा आउने अवस्था सिर्जना हुन दिनु हुँदैन ।

त्यस्तै, अग्लो झारपात तथा घाँसे क्षेत्रमा चिगर माइट पाइने भएकाले घाँस–दाउरा गर्ने तथा खेतबारीमा काम गर्ने व्यक्तिले शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्ने उनले बताए ।

डा. पुनले भने “मुख्य कुरा शरीर राम्ररी ढाक्ने कपडा लगाउनु हो । गाउँघरमा घाँस–दाउरा गर्दा संक्रमण बढी देखिनुको कारण पनि यही हो । तर यसको अर्थ सहरमा हुँदै हुँदैन भन्ने होइन,”

उनका अनुसार स्क्रब टाइफस नियन्त्रणका लागि जनचेतना विस्तारसँगै सरकारले समयमै सूचना प्रवाह गर्न आवश्यक छ । संक्रमणका लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा परीक्षण तथा उपचार गराउन सके अहिले देखिएको संक्रमणलाई छिटो नियन्त्रणमा लिन सकिने उनले बताए ।

सल्यानमा संक्रमणको दर घटिरहेको जिल्ला प्रशासनको दाबी भए पनि स्वास्थ्य विज्ञहरूले लक्षण देखिएका व्यक्तिको समयमै परीक्षण र उपचार तथा संक्रमणको स्रोतबारे थप निगरानी आवश्यक रहेको बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस