असोज १५, हुम्ला । लगातारको वर्षापछि हुम्लाको सिमकोट गाउँपालिका–५ स्थित हेल्दुमखोलामा रहेको काठे पुलको एक भाग भत्किएपछि कस्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । असोज ९ गतेदेखि परेको अविरल वर्षाका कारण पुलको एकपट्टिको भाग भत्किएर जीर्ण अवस्थामा पुगेको स्थानीय किसान सुनारले बताए । पुल जीर्ण भएपछि सिमकोट गाउँपालिका–१ र २ का स्थानीयवासी तथा पशुवस्तुलाई वारपार गर्न कठिन भएको उनले बताए ।
स्थानीयका अनुसार काम विशेषले दैनिक सदरमुकाम सिमकोट आउजाउ गर्नुपर्ने भए पनि पुलको अवस्था जीर्ण हुँदा जोखिम मोलेर यात्रा गर्नुपरेको छ । पुलसँगै कतिपय स्थानीय खोला हुँदै समेत वारपार गर्न बाध्य भएका छन् ।
ठेहेदेखि सदरमुकाम सिमकोट जोड्ने सडकका विभिन्न खण्डसमेत अवरुद्ध भएपछि स्थानीयको आवतजावत थप प्रभावित भएको छ । लाङदु, लभ्ली डाँडा, बरगाउँ, चिचिडेनी र पैरापोरीलगायतका क्षेत्रमा पहिरो तथा ठूला ढुंगा खसेपछि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा बिरामी, बालबालिका तथा ज्येष्ठ नागरिकलाई आवतजावतमा बढी समस्या भएको स्थानीयको गुनासो छ । सडक अवरुद्ध भएको एक साता बितिसक्दा पनि समयमै खुलाउन नसकिएको उनीहरूको भनाइ छ । सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर बुढाका अनुसार सदरमुकामदेखि वडा नम्बर १ र २ जोड्ने अवरुद्ध सडक खुलाउने काम बुधबारदेखि सुरु भएको छ ।
उनका अनुसार गाउँपालिका–३ बुराउँसे क्षेत्रमा पनि वर्षाका कारण अवरुद्ध सडक जेसीभी प्रयोग गरेर खुलाउने काम भइरहेको छ । पालिकाभित्र वर्षाका कारण अवरुद्ध भएका छोटो दूरीका सबै सडक अबको एक–दुई दिनभित्र सञ्चालनमा ल्याउने तयारी रहेको बुढाले बताए ।
यसैबीच, लगातारको वर्षाका कारण कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिकाका विभिन्न सडक खण्डसमेत अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार खार्पुनाथ गाउँपालिकाको मुसेडी र लालीबगर क्षेत्रमा सडक अवरुद्ध भएको छ । अवरुद्ध सडकमा जेसीभी परिचालन गरी यातायात सञ्चालनमा ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताए ।
