• २०८३ असोज १५ गते बिहिवार

कर्णालीबाट कांग्रेस पदाधिकारीमा दाबी गर्दै एक्ला नेता शाही, को हुन् उनी ?

शेरबहादुर थापा पढ्न लाग्ने समय : २ मिनेट

असोज १५, काठमाडौं ।  कर्णाली प्रदेशका नेपाली कांग्रेसका नेताहरुमध्ये सबैभन्दा ‘सहज, सरल र बोलीका पक्का’ नेताको छवि बनाउन सफल पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले आसन्न १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा सशक्त दावी गर्ने भएका छन् । उनी कांगेसको महाधिवेशनमा पदाधिकारीमा दाबी गर्ने एक्ला नेता मात्रै बन्ने देखिएको छ । यसअघि कांग्रेसबाट कार्यवाहक सभापतिको भूमिकामा कार्यरत पूर्णबहादुर खड्कासहित दुईजना पदाधिकारीमा दाबी गर्ने नेता भए पनि नेता खड्काले महाधिवेशन प्रक्रियामा भाग नलिएपछि उनी मात्रै पदाधिकारीमा दाबी गर्ने एक्ला नेताका रुपमा देखिएका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा पिछडिएको क्षेत्रबाट प्रतिस्पर्धा एक सय मतले मात्रै उनी बद्रीनाथ पाण्डेसँग पराजित हुन पुगेका थिए । त्यतिबेला केही कर्णालीका कांग्रेस नेताहरुबाट मत नपाएका कारण पराजित हुन पुगेका भनेर कर्णालीमा लख काटिँदै गर्दा यसपटक उनको नाममा भने करिब सबै कांग्रेसी एकढिक्का देखिएका छन् ।

हुम्ला जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भइसकेका नेता शाही यसअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको सदस्यसमेत थिए ।

साविक खार्पुनाथ गाउँ विकास समिति–५ को खर्पेलगाउँ स्थायी घर भएका उनी ०१९ सालको फागुन १९ गते जन्मिएका हुन् । शाहीले पाइलटको कोर्स पूरा गरेर केही समय अनुभव बटुल्दै उक्त पेसालाई बिट मार्दै ०४६ सालपछि कांग्रेस हुम्लाको राजनीतिमा कदम राखेका थिए ।

०४६ देखि ०६२ सालसम्म उनी कांग्रेस हुम्लाको पार्टी सभापति निरन्तर पदमा रहेका शाही ०४९ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समितिको सभापतिमा पराजित बनेका थिए तर ०५५ सालमा भने सभापतिमा निर्वाचित भए । ०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा माओवादीका उम्मेरदवारसँग पराजित भएका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी ०७० सालमा सम्पन्न दोस्रो संविधानसभामा हुम्लाबाट निर्वाचित भए । ०७३ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र खानेपानी मन्त्रीसमेत बनेका नेता शाही ०७४ सालको निर्वाचनमा कर्णाली प्रदेशमा कांग्रेसको तर्फबाट प्रत्यक्षतर्फ निर्वाचित हुने एक मात्र प्रदेश सभा सदस्य बने । सोही कार्यकालमा कर्णाली प्रदेशको दोश्रो मुख्यमन्त्रीको रुपमा जिम्मेवारी वहन गरे ।

२०७९ सालको निर्वाचनमा पनि उनी प्रदेश सभाको निर्वाचनमा हुम्ला ‘ख’ बाट निर्वाचित बने । हाल उनले कर्णाली प्रदेश संसदीय दलको नेता तथा प्रमुख प्रतिपक्षी दलको नेता बनेर प्रदेश सभामा सशक्त भूमिका खेलिरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस