असोज १५, काठमाडौं । यो दिवस केवल वृद्धवृद्धालाई सम्झिने दिन होइन, उनीहरूले जीवनभर परिवार, समाज र राष्ट्रका लागि गरेको योगदान सम्झने र उनीहरूको बाँकी जीवन कस्तो बनाउने भन्ने विषयमा सोच्ने दिन पनि हो । ज्येष्ठ नागरिक को हुन् ? यसको एउटै उमेर सीमा संसारभर छैन । संयुक्त राष्ट्रसंघले प्रायः ६० वर्ष वा सोभन्दा माथिको उमेरलाई वृद्ध जनसंख्याको सन्दर्भमा प्रयोग गर्छ भने धेरै देशले सामाजिक सुरक्षा, पेन्सन वा अन्य सेवाका लागि ६५ वर्ष वा फरक उमेर सीमा तोकेका छन् । त्यसैले ‘ज्येष्ठ नागरिक’ भन्ने कानुनी परिभाषा देशअनुसार फरक फरक हुन्छ । मुख्य कुरा उमेरको अंक मात्र होइन, उमेर बढेसँगै आवश्यक पर्ने सम्मान, स्वास्थ्य सेवा, सुरक्षा, सामाजिक सहभागिता र हेरचाह पनि हो ।

नेपालमा सामान्यतया ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । हाल सरकारी विवरणअनुसार ७० वर्ष पुगेका ज्येष्ठ नागरिकका लागि मासिक ४ हजार रुपैयाँ भत्ता छ । दलित तथा तोकिएका क्षेत्रका ६० वर्ष पुगेका नागरिकका लागि छुट्टै व्यवस्था छ । तर प्रश्न उठ्छ कि, ज्येष्ठ नागरिकको सम्पूर्ण जिम्मेवारी भत्ता दिएर मात्र पूरा हुन्छ त ? पक्कै पनि हुँदैन । भत्ता आवश्यक छ । औषधि किन्न, सामान्य खर्च धान्न वा आफ्नो सानो आवश्यकता पूरा गर्न त्यसले सहयोग गर्छ । तर बुढ्यौलीमा पैसाभन्दा पनि कहिलेकाहीँ मान्छे चाहिन्छ, साथ चाहिन्छ, कुराकानी चाहिन्छ र आफ्नो मान्छे भएको अनुभूति चाहिन्छ ।
पहिलो दायित्व परिवारको होइन र ?
नेपाली समाजमा वृद्ध बुवा–आमाको पहिलो सहारा परिवार नै हो । बुढेसकालमा उनीहरूलाई ठूलो घर, महँगो कपडा वा विलासी जीवनभन्दा छोराछोरीले दिएको समय र सम्मान धेरै मूल्यवान हुन्छ । बुवा–आमासँग केही समय बसेर कुरा गर्ने, उनीहरूको कुरा धैर्यपूर्वक सुन्ने, नियमित स्वास्थ्य परीक्षण गराउने, औषधि समयमा खुवाउने, पोषणयुक्त खाना दिने, सुरक्षित बस्ने वातावरण बनाउने र एक्लोपन महसुस हुन नदिने काम परिवारको दायित्व हो ।
आज धेरै युवा रोजगारी र अध्ययनका लागि विदेशिएका छन् । कतिपयका बुवा–आमा गाउँमा एक्लै बसेका छन् । छोराछोरी विदेशमा कमाइरहेका छन् तर बुवा–आमाको घरमा बोल्ने मान्छे छैनन । यस्तो अवस्थामा पैसा पठाउनु आवश्यक भए पनि पैसाले मात्र एक्लोपनको उपचार गर्दैन । नियमित फोन, भिडियो कल, छिमेकी वा आफन्तमार्फत हेरचाह र आवश्यक परे स्थानीय स्तरमा सहयोगको व्यवस्था पनि उत्तिकै आवश्यक छ ।
समाजको जिम्मेवारी :
परिवारपछि समाजको भूमिका आउँछ । ज्येष्ठ नागरिकलाई घरभित्र सीमित राख्ने होइन, समाजको सक्रिय सदस्यका रूपमा स्वीकार गर्नुपर्छ । टोल–टोलमा ज्येष्ठ नागरिक मिलन केन्द्र, दिवा हेरचाह केन्द्र, पुस्तकालय, योग तथा व्यायामस्थल, स्वास्थ्य परीक्षण शिविर र मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्न सकिन्छ । सार्वजनिक पार्क, पैदलमार्ग र बस्ने स्थान ज्येष्ठ नागरिकमैत्री बनाउन सकिन्छ ।
युरोपका विभिन्न मुलुकमा सार्वजनिक स्थान, यातायात र सामाजिक सेवामा ज्येष्ठ नागरिकको पहुँचलाई विशेष ध्यान दिइन्छ । नेपालले पनि त्यस्ता अभ्यासबाट सिक्न सक्नु पर्दछ । ज्येष्ठ नागरिकलाई बाटो काट्न कठिन हुने, सार्वजनिक यातायातमा उभिनुपर्ने वा अस्पतालमा लामो लाइन बस्नुपर्ने अवस्थाबाट मुक्त गर्ने नीति आवश्यक छ ।
राज्यको दायित्व भत्ताभन्दा धेरै ठूलो छ :
ज्येष्ठ नागरिकका लागि राज्यको जिम्मेवारी सामाजिक सुरक्षा भत्ता वितरणमा मात्र सीमित हुनु हुँदैन । स्वास्थ्य, आवास, पोषण, सुरक्षा, यातायात, सामाजिक सहभागिता र दीर्घकालीन हेरचाहलाई एउटै नीतिभित्र जोड्नुपर्छ । जापानको उदाहरण यहाँ महत्वपूर्ण छ । त्यहाँ सन् २००० देखि Long-Term Care Insurance प्रणाली सञ्चालनमा छ । ४० वर्षदेखि नै नागरिकले यस प्रणालीमा योगदान गर्छन् र ६५ वर्ष पुगेपछि आवश्यकताको प्रमाणिकरणका आधारमा दीर्घकालीन हेरचाह तथा सहयोग सेवा प्राप्त गर्न सक्छन् । यसको उद्देश्य वृद्धावस्थाको हेरचाहलाई परिवारको मात्र बोझ नबनाई समाजको साझा जिम्मेवारी बनाउनु हो ।
सिंगापुरमा पनि ६५ वर्ष वा माथिका कम आय भएका ज्येष्ठ नागरिकका लागि ‘Silver Support’ जस्ता कार्यक्रम छन् । त्यसबाहेक सरकारी सहयोगबाट दीर्घकालीन आवासीय हेरचाह सेवामा ठूलो मात्रामा अनुदान उपलब्ध गराइन्छ । जर्मनीमा वृद्धावस्था पेन्सनसँगै दीर्घकालीन हेरचाहसम्बन्धी सामाजिक सुरक्षा व्यवस्था रहेको पाइन्छ । यी सबै प्रणाली नेपालमा हुबहु लागू गर्न सकिन्छ भन्ने होइन । तर ‘वृद्ध भएपछि परिवारले मात्र हेर्छ’ भन्ने परम्परागत सोचबाट ‘वृद्ध हेरचाह परिवार, समाज र राज्यको साझा जिम्मेवारी हो’ भन्ने अवधारणातर्फ जानुपर्ने पाठ भने सिक्न सकिन्छ ।
नेपालमा थपिएको चुनौती :
नेपालमा थपिएको अर्को चुनौति हो आयु बढ्दै गएसंगै सन्तान विदेशिनु । गाउँघरका धेरै घरमा वृद्ध आमाबुवा छन्, छोराछोरी विदेशमा छन् । भोलि यो समस्या अझ ठूलो बन्न सक्छ । त्यसैले सरकारले अहिलेदेखि नै स्थानीय तहसँग सहकार्य गरी ज्येष्ठ नागरिक हेरचाह केन्द्र, घरमै स्वास्थ्य सेवा, आपत्कालीन उद्धार प्रणाली, सामाजिक परिचालक तथा नियमित स्वास्थ्य अनुगमनको व्यवस्था गर्न अति आवश्यक छ र भइसक्यो ।
ज्येष्ठ नागरिक बोझ होइनन् । उनीहरू अनुभवको विश्वविद्यालय हुन् । उनीहरूले परिवार निर्माण गरे, समाज बनाए, राष्ट्र निर्माणमा योगदान गरे । आज उनीहरूलाई हाम्रो आवश्यकता छ भने भोलि हामीलाई पनि यही पुस्ताको आवश्यकता पर्न सक्छ । त्यसैले आजको प्रश्न केवल ‘ज्येष्ठ नागरिकलाई कति रुपैयाँ भत्ता दिने ?’ भन्ने होइन । प्रश्न हो—‘उनीहरूले जीवनको अन्तिम चरण कसरी सम्मान, सुरक्षा, स्वास्थ्य र आत्मसम्मानका साथ बिताउने ?’ सरकारले ज्येष्ठ नागरिक नीति पुनरावलोकन गर्दा भत्तासँगै स्वास्थ्य बीमा, घरमै स्वास्थ्य सेवा, दीर्घकालीन हेरचाह, सुरक्षित आवास, सार्वजनिक यातायात, पार्क तथा मनोरञ्जनस्थल र एक्लो ज्येष्ठ नागरिकको नियमित निगरानीलाई प्राथमिकतामा राख्नुपर्छ ।
अन्ततः ज्येष्ठ नागरिकको सम्मान कुनै एक दिनको औपचारिक कार्यक्रम होइन । घरमा बुवा–आमाको हात समात्नु, उनीहरूको कुरा सुन्नु, समाजमा उनीहरूलाई सम्मान गर्नु र राज्यले उनीहरूको सुरक्षित भविष्य सुनिश्चित गर्नु नै अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको वास्तविक अर्थ हो । आजको पुस्ताले आफ्ना ज्येष्ठ नागरिकलाई दिएको व्यवहार नै भोलिको पुस्ताले आफूलाई दिने व्यवहारको आधार बन्नेछ ।