• २०८३ भाद्र १६ गते मङ्गलवार

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
भदौ १६, रुकुम पश्चिम। रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित आज दुई जनालाई बगाएको छ । खोलाले बगाएका मोटरसाइकल पछाडि सवार १८ वर्षीय प्रवीण बस्नेतको सकुशल उद्धार गरिएको छ भने मोटरसाइकल चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक झवीन्द्र परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार खलङ्गाबाट कुनाखेत हुँदै स्यार्पुतालतर्फ जाँदै गरेको रा६प १६१८ नम्बरको मोटरसाइकल तिल्चा खोला पार गर्ने क्रममा एक्कासी चिप्लिएर खोलामा बगेको थियो । मुसिकोट नगरपालिका-४ सोलाबाङ निवासी १८ वर्षीय प्रशान्त सन्यासीले मोटरसाइकल चलाएका जनाउँदै मोटरसाइकलको पछाडि रामेछापको गोकुलगङ्गा गाउँपालिका-१ का १८ वर्षीय प्रवीण बस्नेत सवार रहेका उहाँले बताउनुभयो ।
मोटरसाइकल चिप्लिएपछि चालक सन्यासी र पछाडि सवार बस्नेतलाई खोलाले बगाएको थियो । बस्नेतलाई खोलाको बीचमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा फेला परेपछि सकुशल उद्धार गरिएको प्रहरी निरीक्षक परियारले उल्लेख गर्नुभयो । मोटरसाइकलसहित चालक प्रशान्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम-पश्चिमले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस