• २०८३ साउन १७ गते आइतवार

पोखरामा मनाइयो कोदो दिवस

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन १६, गण्डकी। दोस्रो राष्ट्रिय कोदो दिवस पोखरामा पनि मनाइएको छ । दिवसका अवसरमा पोखरा महानगरपालिका–२२ कोदीमा आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकाले यसको संरक्षण, प्रवर्द्धन र खेती विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

कोदो खेतीको प्रवर्द्धन र खेती विस्तारका लागि महानगरले किसानलाई प्रोत्साहन सहयोग गर्दै आएको उहाँले बताउनुभयो । “कोदोको उत्पादन वृद्धि, बजारीकरण र मूल्य अभिवृद्धिमार्फत किसानको आय बढाउन महानगरपालिकाले आवश्यक सहयोग गर्दै आएको छ”, प्रमुख आचार्यले भन्नुभयो, “स्थानीय उत्पादनको उपयोग बढाउँदै खाद्य सुरक्षा तथा आत्मनिर्भर कृषितर्फ अघि बढ्नु जरूरी छ ।”

सो अवसरमा १७ रोपनी क्षेत्रफलमा कोदोखेती गर्नुभएका पोखरा–२२ का किसान खगी घर्ती, ११ रोपनी क्षेत्रफलमा कोदोखेती गर्ने पोखरा–२० का दुर्गाबहादुर सुनार, १० रोपनी क्षेत्रफलमा कोदोखेती गर्ने पोखरा–२८ की शोभा भण्डारी र नौ रोपनी क्षेत्रफलमा कोदोखेती गर्ने पोखरा–२३ का होमबहादुर गुरुङलाई नगदसहित सम्मान गरिएको थियो ।

दिवसका अवसरमा कोदो रोप्ने प्रतियोगितासमेत आयोजना गरिएको महानगरको आर्थिक विकास तथा कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार नगर क्षेत्रको करिब तीन हजार ८०० हेक्टर क्षेत्रफलमा कोदोखेती लगाउने गरिएको छ भने चार हजार ८०० मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ । कोदोखेतीप्रति किसानलाई आकर्षित गर्न कोदोको न्यूनतम समर्थन मूल्यसमेत प्रदान गर्न थालिएको प्रमुख कडरियाले बताउनुभयो ।

कार्यक्रममा कोदोबाट बनेका विभिन्न परिकार, स्थानीय उत्पादन तथा कृषि उद्यमसम्बन्धी प्रदर्शनी राखिएको थियो । पुम्दीभुम्दी कृषि सहकारी संस्थाको आयोजना, महानगरको आर्थिक विकास तथा कृषि महाशाखाको सहयोग, महानगरको वडा नं २२, वडास्तरीय कृषि सञ्जाल र लिबर्ड नेपालको समन्वयमा दिवस मनाइएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस