• २०८३ साउन १६ गते शनिवार

पहलमानपुर र महेन्द्रनगर सबस्टेशनको क्षमता विस्तार सम्पन्न, मोरङको केरौन सबस्टेशन सञ्चालनको अन्तिम तयारी तीव्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

साउन १६ , काठमाडौं ।   बढ्दो विद्युत् माग व्यवस्थापन गर्दै सुरक्षित, भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न क्षेत्रमा सबस्टेशनको क्षमता विस्तार तथा विद्युत् पूर्वाधार सुदृढीकरणका कार्यलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् प्रणालीको विश्वसनीयता अभिवृद्धि, सेवा सुधार तथा देखिएका समस्या शीघ्र समाधान गर्न निर्देशन दिएअनुसार प्राधिकरणले सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण सबस्टेशनहरूको क्षमता विस्तार सम्पन्न गर्नुका साथै पूर्वी नेपालमा नयाँ सबस्टेशन सञ्चालनको अन्तिम तयारीलाई तीव्र बनाएको हो।

यसअन्तर्गत कैलालीस्थित पहलमानपुर ३३÷११ केभी सबस्टेशनमा बढ्दो विद्युत् मागलाई मध्यनजर गर्दै थप १६.६ एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडान गरी २०८३ साउन १६ गते सफलतापूर्वक चार्ज गरिएको छ। यसअघि उक्त सबस्टेशनमा ८ एमभीए क्षमताको एउटा मात्र पावर ट्रान्सफर्मर सञ्चालनमा रहेको थियो। नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै पहलमानपुर, सुखड, भजनी तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्तिको क्षमता, गुणस्तर र विश्वसनीयतामा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, कञ्चनपुरस्थित महेन्द्रनगर १३२ केभी सबस्टेशन मा रहेका दुईवटा ३० एमभीए, १३२÷३३ केभी पावर ट्रान्सफर्मरलाई प्रतिस्थापन गरी दुईवटा ६३ एमभीए क्षमताका नयाँ पावर ट्रान्सफर्मर सफलतापूर्वक सञ्चालनमा ल्याइएको छ। यससँगै सबस्टेशनको कुल रूपान्तरण क्षमता ६० एमभीएबाट १२६ एमभीए पुगेको छ। क्षमता विस्तारपछि महेन्द्रनगर तथा आसपासका क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन, विद्युत् आपूर्तिको विश्वसनीयता, सञ्चालन लचकता तथा सेवा निरन्तरतामा उल्लेखनीय सुधार हुने प्राधिकरणले जनाएको छ।

सुदूरपश्चिममा क्षमता विस्तारका कार्य सम्पन्न भएसँगै प्राधिकरणले अहिले मोरङस्थित केरौन १३२÷३३÷११ केभी सबस्टेशन लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गरी सञ्चालनमा ल्याउने अन्तिम तयारीलाई तीव्र बनाएको छ।

गत हप्ता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा प्रवक्ता तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल लगायतको उच्चस्तरीय टोलीले केरौन सबस्टेशनको स्थलगत निरीक्षण गरी निर्माण प्रगति, सञ्चालन तयारी तथा बाँकी प्राविधिक कार्यहरूको विस्तृत समीक्षा गरेको थियो। निरीक्षणका क्रममा कार्यकारी निर्देशक श्रेष्ठले आयोजना निर्धारित समयभित्र सञ्चालनमा ल्याउन आवश्यक निर्देशन दिएपछि निर्माण व्यवसायीले १३२ केभी लाइन ट्यापिङसम्बन्धी बाँकी कार्यलाई द्रुत गतिमा अघि बढाएको छ। हाल नयाँ टावर निर्माण, आवश्यक संरचनागत कार्य, लाइन क्लियरेन्सलगायत अधिकांश पूर्वतयारी सम्पन्न भइसकेका छन् भने बाँकी प्राविधिक कार्य अन्तिम चरणमा पुगेका छन्।

सबस्टेशनलाई राष्ट्रिय प्रसारण प्रणालीसँग जोड्न आवश्यक १३२ केभी लाइन ट्यापिङ कार्य सम्पन्न गर्न निर्माण व्यवसायीले १२ घण्टाको शटडाउन आवश्यक पर्ने प्रस्ताव गरेको छ। तर, आम उपभोक्तामा पर्ने प्रभावलाई न्यूनतम बनाउन बिहान ३ः०० बजेदेखि नै शटडाउन सुरु गरी सकेसम्म छोटो अवधिमै सम्पूर्ण कार्य सम्पन्न गर्ने गरी विस्तृत कार्ययोजना तयार गर्न कार्यकारी निर्देशक श्रेष्ठले निर्देशन दिएका छन् । सोहीअनुसार आवश्यक प्राविधिक तयारी, कार्यतालिका, जनशक्ति परिचालन तथा समन्वयका कार्यहरू तीव्र रूपमा अघि बढाइएको प्राधिकरणले जनाएको छ।

त्यसैगरी, शटडाउन अवधिमा पूर्वी क्षेत्रका उपभोक्तामा विद्युत् आपूर्तिको असर न्यूनतम बनाउन पूर्वी क्षेत्रकै विद्युत् उत्पादन केन्द्रहरूको अधिकतम उपयोग गर्दै ‘मिनी ग्रिड’ अवधारणामार्फत प्रभाव पर्न सक्ने क्षेत्रमा सम्भव भएसम्म निरन्तर विद्युत् आपूर्ति कायम राख्ने व्यवस्थाको तयारी गर्न पनि कार्यकारी निर्देशक श्रेष्ठले निर्देशन दिएका छन् । सोहीअनुसार आवश्यक प्राविधिक अध्ययन, प्रणाली विश्लेषण तथा सञ्चालन तयारी भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आवश्यक स्वीकृति प्राप्त भएपछि आगामी शनिबार शटडाउन गरी १३२ केभी लाइन ट्यापिङ कार्य सम्पन्न गरिनेछ। त्यसपश्चात् परीक्षण तथा कमिसनिङका अन्तिम प्राविधिक कार्य सम्पन्न गरी केरौन १३२÷३३÷११ केभी सबस्टेशन शीघ्र सञ्चालन (चार्ज) मा ल्याइने तयारी गरिएको छ।

केरौन सबस्टेशन सञ्चालनमा आएपछि मोरङको बेलबारी, रंगेली तथा आसपासका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित हुनुका साथै पूर्वी नेपालको वितरण प्रणालीको विश्वसनीयता, सञ्चालन लचकता तथा विद्युत् सेवाको गुणस्तरमा उल्लेखनीय सुधार हुने नेपाल विद्युत् प्राधिकरणको विश्वास रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस