साउन १६ , सिरहा । नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु भएका गणेश यादवको परिवारसँग आठबुँदे सहमति गरेको छ । विहीबार मध्यराति मृतका घर औरही गाउँपालिका वडा नं. २ तुलसीयाही पुग्नु भएका गृह मन्त्री गुरुङ र पीडित परिवारबीच घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निःशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्नेलगायत मागमा सहमति भएको गृह मन्त्री गुरुङले उल्लेख गरे ।

सरकारको तर्फबाट गृहमन्त्री सुधन गुरुङ र मृतकका तर्फबाट उनका बुबा रामवृक्ष यादवले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिरहेका बेला साउन १४ गते प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको हो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगरपालिका र गोलबजार नगरपालिका आसपासका क्षेत्रमा लगाउँदै आएको कफ्र्यू आदेश मध्ये लहानको जनजीवन सामान्य बन्दै गएपछि लहान नगरपालिका क्षेत्रभित्रमा लगाइएको कफ्र्यू हटाएको छ ।
लहान नगर क्षेत्रभित्र लगाइएको कफ्र्यु हटाएपछि आसपासका क्षेत्रहरुमा मानिसहरुको चहल पहल बढेको छ भने चारपांग्रे र दुई पांग्रे यातायातका साधनहरु पनि चल्न थालेको छ । तर गोलबजार क्षेत्रभित्र सुरक्षास्थिति सामान्य नभइसकेकोले उक्त स्थानमा कफ्र्यू आदेश यथावत रहेको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । थप हिंसा बढ्न नदिन गोलबजार क्षेभित्र सुरक्षाकर्मीहरुको वाक्लो उपस्थिति रहेको छ । मानिसहरुको चहल पहल हुन भने सकेको छैन । बजार पसल बन्द छ ।