जेठ १८, काठमाडौं । पश्चिम लन्डनमा आइतबार आयोजित एक धार्मिक तथा सांस्कृतिक भेलाले पश्चिम लन्डनमा नेपाल कल्चरल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । भेलाले आगामी सन् २०२७ मा लन्डनमा पहिलो पटक आध्यात्मिक महोत्सव आयोजना गर्ने घोषणा समेत गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै धर्म दर्शन सांस्कृतिक केन्द्रका संस्थापक तथा अठार पुराणका ज्ञाता गुरु पण्डित कुबेर सुवेदीले बेलायतमा सनातन धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा प्रवद्र्धनका लागि पश्चिम लन्डनमा एक बहुउद्देश्यीय सांस्कृतिक तथा आध्यात्मिक केन्द्र आवश्यक रहेको बताए ।
उनले मन्दिर निर्माण मात्र नभई सांस्कृतिक जागरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भगवानको दिव्य मन्दिर र नेपाली सांस्कृतिक केन्द्रको स्थापना समुदायको साझा अभियान हुनुपर्ने बताए । ‘मन्दिर निजी होइन, सामुदायिक हुन्छ । सनातन धर्म र संस्कृतिको संरक्षण गर्नु सबैभन्दा ठूलो सम्पत्ति हो,’ उनले भने ।
सुवेदीले आगामी एक वर्षभित्र बेलायतमा भव्य आध्यात्मिक महोत्सव आयोजना गर्ने योजना रहेको जानकारी दिँदै तन, मन र धनले सहयोग गर्न समुदायलाई आह्वान गरे । उनले धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरू एउटै स्थानबाट सञ्चालन गर्न सकिने बहुउद्देश्यीय भवन निर्माण गर्नुपर्ने सुझाव पनि दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले यस्तो केन्द्र निर्माणको अभियान सामूहिक प्रयासबाट अवश्य सफल हुने विश्वास व्यक्त गरे ।
दुवाडीले केन्द्रलाई सुरुदेखि नै बहुउद्देश्यीय बनाउने सुझाव दिँदै त्यहाँ धार्मिक अनुष्ठान, व्रतबन्ध, पास्नी, विवाह तथा अन्य सामुदायिक कार्यक्रम सञ्चालन गर्न सकिने बताए । नयाँ पुस्तालाई संस्कार, अनुशासन र सत्संगको शिक्षा दिन समेत यस्तो केन्द्र उपयोगी हुने उनको भनाइ थियो ।
गुरु चिरञ्जीवी ढकालले समुदायको साथ र सहयोग प्राप्त भए पश्चिम लन्डनमा मन्दिर निर्माणको सपना अवश्य साकार हुने विश्वास व्यक्त गरे। उनले आगामी वर्ष धार्मिक महोत्सव आयोजना गरेर अभियानलाई थप सशक्त बनाउनुपर्ने बताए ।
कार्यक्रमका सभापति तथा धर्म दर्शन सांस्कृतिक केन्द्रका अध्यक्ष सहदेव गिरीले पश्चिम लन्डनमा मन्दिर तथा सांस्कृतिक केन्द्र निर्माणको अवधारणा पण्डित कुबेर सुवेदीको प्रेरणाबाट अघि बढाइएको बताए ।
उनले पश्चिम लन्डनमा यस्तो केन्द्रको आवश्यकता लामो समयदेखि महसुस गरिएको उल्लेख गर्दै अभियान अब नरोकिने र मन्दिर अवश्य निर्माण हुने विश्वास व्यक्त गरे।
दक्षिण पूर्वी लन्डनको प्लमस्टेडस्थित पशुपतिनाथ मन्दिर स्थापना गर्दाको अनुभव साझा गर्दै गिरीले आर्थिक स्रोत जुटाउनु मात्र नभई समुदाय परिचालन, स्थानीय निकायका नियमको पालना र सबैको सहयोग प्राप्त गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए ।