• २०८३ बैशाख १५ गते मङ्गलवार

मध्यपूर्वमा विकसित घटनाक्रमप्रति एनआरएनएको आग्रह : उच्च सतर्कता अपनाउनुहोला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले मध्यपूर्व क्षेत्रमा हाल विकसित भइरहेका तनावपूर्ण घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यस क्षेत्रमा रहेका सम्पूर्ण नेपालीहरूलाई उच्च सतर्कता अपनाउन अपील गरेको छ। इजरायल र इरानसहित कतार, कुवेत, युएई र बहराइन जस्ता देशहरूमा रहेका करिब १९ लाख नेपालीहरूको सुरक्षालाई मुख्य प्राथमिकतामा राख्दै संघले विशेष सावधानी अपनाउन आग्रह गरेको हो। संघका अध्यक्षद्वय डा। बद्री केसी र महेश कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रतिकूल परिस्थितिका कारण उत्पन्न जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन र नेपाली दूतावासले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ।

संघले मध्यपूर्वमा रहेका नेपालीहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, अनावश्यक यात्रा नगर्न र स्थानीय अवस्थाबारे निरन्तर जानकारी राख्न सुझाव दिएको छ। साथै, सुरक्षित रहनका लागि सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद् , संघको सचिवालय तथा नेपाली दूतावासहरूसँग नियमित सम्पर्कमा रहन समेत आग्रह गरिएको छ। वर्तमान अवस्था सामान्य नभएसम्म ती देशहरूमा गर्ने भनिएका भ्रमणका योजनाहरू स्थगित गर्न समेत संघले सूचित गरेको छ। यसैबीच, एनआरएनएले नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर अनुगमन गरी उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न अनुरोध गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस