• २०८३ भाद्र ३१ गते बुधवार

महेन्द्र माविलाई अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्रदान

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

 साउन १५, गुल्मी । गुल्मी सदरमुकाम तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर चिह्न (आईएसओ) प्रदान गरिएको छ । विद्यालय सुधारका विभिन्न ५२ सूचकमध्ये कम्तीमा ५० प्रतिशत सूचकमा काम भएपछि विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्रदान गरिएको हो ।

ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि सुदीप शर्माले रेसुंगा नगरपालिकाकी उप–प्रमुख अमृतादेवी कुँवरको रोहवरमा विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष एवं रेसुंगा नगरपालिका–१ का वडाध्यक्ष रामप्रसाद पन्थी र प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीलाई आईएसओ चिह्न प्रदान गरेका हुन् । काउन्सिलले दिएका ५१ सूचकमध्ये कम्तीमा ८० प्रतिशत सूचकमा काम भएपछि विद्यालयलाई प्रमाण–पत्र उपलब्ध गराइनेछ । लोगो प्राप्त गर्नका लागि विद्यालयको सरसफाइ, अग्नि सुरक्षा, प्राथमिक स्वास्थ्य सामग्री, गेट व्यवस्थापन, कक्षाकोठा व्यवस्थापन, संस्थाको लोगो प्रदर्शन, गुणस्तरको नीति र उद्देश्य, मानव स्रोत व्यवस्थापन नीति, आपत्कालीन सम्पर्क नम्बर सार्वजनिक, गुणस्तरीय पाठ योजना तथा सामग्री निर्माणलगायतका सूचकहरू निर्धारण गरिएको छ । त्यसैगरी सफा खानेपानी, कार्यालय व्यवस्थापन, कम्तीमा ५ सय विद्यार्थी संख्या, विद्यालय आउनेको अभिलेख, विद्यालयको गुणस्तर नीति, विभागीय नीतिहरू, विद्यालय पोसाकलगायतका सूचकमा काउन्सिलले अनुगमन गर्ने विद्यालयका सूचना अधिकारी शालिकराम पन्थीले जानकारी दिए । ‘लोगो प्राप्त गरेसँगै विद्यालय गुणस्तर कायम गर्न उन्मुख छ भन्ने बुझिन्छ,’ प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले भने, ‘विद्यालय अन्तर्राष्ट्रियस्तरको शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै छ ।’ आईएसओ प्रमाण–पत्र प्राप्त गरेपछि विद्यालयको प्रशासनिक पक्ष, नतिजा, विद्यालय गतिविधि सञ्चालन, व्यवस्थापकीय पक्षमा सुधार, शिक्षक तथा व्यवस्थापन समितिलाई विद्यालयको गुणस्तर अभिवृद्धिसम्बन्धी तालिम प्रदानलगायतका पक्षमा सहयोग हुने प्रधानाध्यापक मरासिनीले बताए । विद्यालयले लोगो प्राप्त गरेको र प्रमाणपत्र प्राप्त गर्ने चरणमा पुगेपछि विद्यार्थी तथा अभिभावक पनि खुसी भएका छन् । ‘हाम्रो विद्यालयले आईएसओ लोगो प्राप्त गरेको छ, अब छिट्टै आईएसओको सर्टिफिकेट प्राप्त गर्ने अपेक्षा गरेका छौं,’ कक्षा १२ मा अध्ययनरत छात्रा यशोदा कुँवरले भनिन् । अभिभावक घनश्याम पाण्डेले विद्यालयको गुणस्तर थप वृद्धि हुने भएकाले आईएसओ लोगो प्राप्त गरेकामा खुसी लागेको बताए । ‘गुणस्तर राम्रो हुन्छ, बालबच्चाका सटिर्फिकेटले अन्तर्राष्ट्रिय बजारमा सहजै स्थान पाउँछन्,’ उनले भने, ‘अब प्रमाण–पत्र प्राप्त गर्नमा पनि हामीले विद्यालयलाई पूर्ण सहयोग गर्छौं ।’ अर्का अभिभावक ध्रुव पाण्डेले विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न पाउनु नै गर्वको विषय भएको भन्दै अब प्रमाण–पत्र प्राप्त गर्नका लागि बाँकी सूचक पूरा गर्न सबै लाग्नुपर्ने बताए ।

ग्लोबल क्वालिटी काउन्सिलका अनुसार बाँकी सूचकहरू विद्यालयले तीन महिनादेखि एक वर्षसम्म पूरा गर्न सक्छ । सो समयमा विद्यालयले विद्यालयको भौतिक पक्षलाई व्यवस्थित गर्ने, सुरक्षा गार्ड रुम बनाउने, शिक्षकलाई तालिम दिने र दक्ष बनाउने, व्यवस्थापन समितिलाई क्षमतावान् बनाउने, मानव स्रोत विकास गर्ने, प्रधानाध्यापकलाई प्रशासनिक झन्झट मुक्त गराई विद्यालयको समग्र विकासमा लगाउने लगायतका सूचक पूरा गर्नुपर्नेछ । त्यसका लागि स्थानीय सरकारको पनि महत्वपूर्ण भूमिका हुन्छ । नगरपालिकाकी उप–प्रमुख अमृतादेवी कुँवरले महेन्द्र माविलाई आईएसओ प्रमाण–पत्र उपलब्ध गराउनका लागि नगरका तर्फबाट सबै सहयोग उपलब्ध गराउने बताइन् । ‘साधन, स्रोत, पूर्वाधार, जनशक्तिलगायत जे जस्तो सहयोग आवश्यक पर्छ, उपलब्ध गराउन तयार छौं,’ उपप्रमुख कुँवरले भनिन् । उनले नगरका विद्यालयहरू अन्तर्राष्ट्रिय स्तरका हुनु सिंगो जिल्लाकै लागि खुसीको विषय भएको बताइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पन्थीले बाँकी सूचक पूरा गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताए । यो समाचार आजको राजधानीपत्र दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस