• २०८३ जेष्ठ ६ गते बुधवार

दोषीमाथि कानुनी कारबाही गर्न पत्रकार महासङ्घको माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत १६, काठमाडौं । एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । त्यसैगरी तीनकुनेस्थित अन्नपूर्ण मिडिया ग्रुुपको भवनमा तोडफोड र आगजनी गरी क्षति पु-याइएको छ । कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि ढुङ्गामुढा गरी समाचार कक्षसम्म आतङ्क सिर्जना गरिएको छ । हिमालयन टेलिभिजनको सवारीसाधन तोडफोड भएको जानकारी महासङ्घमा प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेसजस्तो भरपर्दो सञ्चार संस्था र सञ्चारकर्मीको ज्यानै जाने गरी यसप्रकारको हमला हुनु घोर आपत्तिजनक, निन्दनीय र भत्र्सनायोग्य भएको महासङ्घको ठहर छ ।

“शान्तिपूर्ण प्रदर्शन गर्ने संवैधानिक अधिकारको महासङ्घ सदैव सम्मान गर्दछ । तर, आन्दोलनको नाममा सञ्चारकर्मीको ज्यानै जाने, प्रेसलाई आतङ्कित र त्रसित बनाउने कार्य किमार्थ स्वीकार गर्दैन”, विज्ञप्तिमा भनिएको छ, “यस्ता हर्कतमा संलग्न जो कोही भए पनि तत्काल कानुनी कठघरामा उभ्याउन महासङ्घ सरकारसँग जोडदार माग गर्दछ ।”

महासङ्घले क्षति पु-याइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन आग्रह गरेको छ । महासङ्घले लोकतन्त्र र प्रेसविरोधी यस्ता क्रियाकलाप नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहने र यस प्रकारका हर्कत दोहोरिए त्यस विरुद्ध उत्रन बाध्य हुनेतर्फ सचेत गराएको छ ।

यसैबीच सञ्चारकर्मी रजकको जलेर निधन भएको खबरले महासङ्घ स्तब्ध भएको उल्लेख छ । महासङ्घले सो अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ । मृतक पत्रकार रकजप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।

नेपाल प्रेस यूनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठनलगायत सञ्चार आवद्ध विभिन्न सङ्घ संस्थाले पनि आज भएको घटनाप्रति आपत्ति प्रकट गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । स्वतन्त्र प्रेसको सम्मान गर्न, निर्वाध समाचार सङ्कलन गर्न दिन र सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन सम्वद्ध सबैलाई आग्रह गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस