• २०८३ बैशाख ४ गते शुक्रवार

सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष १३, काठमाडौं ।   मधेस प्रदेशमा पुस्तान्तरण हुँदै आएको प्राचीन मिथिला कलालाई आधुनिकताको जलप दिएर चित्रकार एस.सी. सुमनले बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’ शीर्षकमा आफ्नो एकल कल प्रदर्शनी गरिरहनुभएको छ ।

‘तीर्थयात्रीको यात्रा’ मा आधारित रहेर सिर्जित उक्त प्रदर्शनीमा राखिएका चित्रहरूमा संस्कृति, रङ र नारीवादको सुन्दर संयोजन पाइन्छ ।

चित्रकार सुमन भन्नुहुन्छ, “हाम्रो संस्कृतिलाई जोगाएर नयाँ पुस्तासम्म पु¥याउन महिलाहरूको भूमिका महत्वपूर्ण छ, मेरा चित्रहरूमा त्यही पाइन्छ । जहाँ संस्कृति, जीवनी, देशको अवस्था सबैलाई चित्रण गर्ने कोसिस गरेको छु ।”

उहाँले यस संस्करणमार्फत कलाको विकासलाई सांस्कृतिक स्मृति र पौरणीक कथाहरूसँग जोड्नुभएको छ । कलामा विविधता र आध्यात्मिकता प्रदर्शनीको सातौँ संस्करणमा उहाँले आफ्नो भौतिक र आध्यात्मिक तीर्थयात्राका अनुभवहरूलाई क्यानभासमा उतार्नुभएको छ ।

“म प्रविधिको सहयोग त लिन्छु तर त्यसमै निर्भर भएर चित्र बनाउँदिन । म चित्र कोर्नु अगाडि त्यसलाई राम्रोसँग बुझ्छु, हेर्छु र त्यसलाई मस्तिष्कमा सङ्ग्रण गर्छु । त्यसपछि म त्यसलाई चित्रमा ल्याउँछु”, उहाँले भन्नुभयो । प्रदर्शनीमा राखिएको पशुपतिनाथको चित्र कोर्दा आफू दुई पटक त्यहाँ पुगेको उहाँले सुनाउनुभयो ।

प्रदर्शनीमा स्वयम्भू, पशुपति, भगवान् गणेश, कृष्ण र रामसीता विवाहका प्रसङ्गहरूसँगै शारदीय नवरात्रमा गरिने ‘नवदुर्गा’ पूजाका चित्र पनि समावेश छन् । “मैले नवरात्र सुरू हुँदा चित्रकोर्न सुरू गरेको थिएँ, दसौँ दिनसम्म आइपुग्दा मैले त्यसलाई पूर्णता दिन सके । मेरो उद्देश्य काठमाडौँ उपत्यका, मधेस र अन्य क्षेत्रका संस्कृतिलाई एउटै क्यानभासमा समेट्नु हो । मैले प्रत्येक चित्रमा मुलुकको विविधतालाई झल्काउने प्रयास गरेको छु । यी चित्रले मेरा मनोविज्ञानलाई प्रतिनिधित्व गर्छन्”, चित्रकार सुमनले भन्नुभयो । प्रदर्शनीमा ३१ वटा कलाकृति समावेश छन् । प्रदर्शनी यही पुस २६ गतेसम्म जारी रहने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस