• २०८३ असार ८ गते सोमवार

दक्षिणकाली माताको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

आज वि.सं. २०८२ भाद्र १२ गते बिहीवार तदनुसार ई. सं. २०२५ अगस्ट २८ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४५, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४७, चन्द्रोदय : बिहान ०९:३६ बजे र चन्द्रास्त : बेलुका ०९:३७ बजे, सूर्योदय : बिहान ०५:४० बजे र सूर्यास्त : साँझ ०६:२८ बजे, भाद्रपद शुक्लपक्ष (ञलाथ्व) पञ्चमी तिथि, दिउँसो ०३:५३ बजेसम्म, त्यसपछि षष्ठी तिथि, चित्रा नक्षत्र, बिहान ०८:१२ बजेसम्म, त्यसपछि स्वाती नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो । खेलवाड र मनोरञ्जनमा अलमलिएर सजिलै दिन बित्ने परिस्थिति छ, तर उज्ज्वल भविष्य र राम्रो रिजल्टका लागि अझ धेरै मिहिनेत गर्नुहोला । नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ । एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ । पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मानसिक अस्थिरताको समय हो, मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुनसक्छ, असाध्यै दौडधूप गर्नुपर्ने समय छ, सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान रहनुहोला । सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ । पारिवारिक जीवन र दैनिकीका दृष्टिले राम्रै दिन छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । ताजगी र स्फूर्ति बढ्नेछ, नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ । दिदीबहिनी वा माइतीपक्षसँग सम्बन्ध/सम्पर्क गर्ने दिन हो । बोलीमा विशेष बल छ, मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । प्रेमी/प्रेमिका वा पति/पत्नीका बीचमा ठास्सठुस्स बढ्ने समय हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ । पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो, त्यस्तै तपाईंमा दिकदारी र चिडचिडेपन पनि हाबी हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो । बौद्धिक सामर्‌थ्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन्, मित्रताका वा साझेदारीका लागि अनुकूल समय छ । तर आफूभित्रका आवेगलाई नियन्त्रण गर्दै अनुशासनको दायरालाई पालना गर्नु महत्त्वपूर्ण मानिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ, पार्टनरको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव व्यहोर्नुपर्ने समय छ । सिनियर्सलाई खुशी बनाउन सकिने छ, कारोबारबाट फाइदा हुने अथवा नोकरीमा प्रशंसा पाउने समय हो, अचानक हातमा धन आइपुग्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ । असहाय र दुःखीको सहयोग गर्दा मनमा छुट्टै सन्तुष्टिको आभास हुनेछ, घरमा सम्पर्क भएको छैन भने सम्पर्क गरी बृद्धबृद्धाको आशीर्वचन लिनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गोपनीय र रहस्यात्मक विषयको जानकारी बटुल्ने दिन हो, तर आज बारम्बार नकारात्मक धारणामात्र आइरहने छ, कसैको असम्भव आशामा वा बहकाउमा नफँस्नु होला । आवेग र रिसरागमा नियन्त्रण राखी खासगरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउनु होला ।

Sharing

प्रतिक्रिया दिनुहोस