• २०८३ बैशाख ८ गते मङ्गलवार

शिव भगवानको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

आज वि.सं. २०८२ श्रावण १२ गते सोमवार तदनुसार ई. सं. २०२५ जुलाई २८ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४५, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४७, चन्द्रोदय : बिहान ०८:२० बजे र चन्द्रास्त : बेलुका ०८:५३ बजे, सूर्योदय : बिहान ०५:२५ बजे र सूर्यास्त : साँझ ०६:५४ बजे , श्रावण शुक्लपक्ष (गुँलाथ्व) चतुर्थी/चौथी तिथि, मध्यरात्रीपूर्व ११:५२ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, साँझ ०७:०८ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा, मध्यरात्रीपछि ०१:२८ बजेसम्म, त्यसपछि कन्या राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुने महत्त्वपूर्ण दिन हो । ज्ञान, आत्मबल र सामर्‌थ्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूर्ण उपलब्धिको बाटोसमेत खुल्नेछ । कल्पना र भावनामा रुमल्लिन सकिन्छ, तर आज कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धनार्जनका दृष्टिले उत्तम समय देखिन्छ, हाकिम वा मान्यजनको विश्वासपात्र बन्न सकिने छ, घर परिवारबाट पनि सुखद समाचार प्राप्त हुनेछ । कारोबारलाई नयाँ गति दिने प्रयत्न हुनेछ । आशाका पछि लाग्नु स्वाभाविक हो, तर पनि आज कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेरमात्र सम्पर्क गर्नु ठीक हुन्छ । आम्दानीको मार्ग बढ्नेछन् । शङ्कास्पद कारोबार र गलत तरिकाबाट समेत धनार्जन गर्ने सम्भावना छ, तर रिस्कमा काम नगर्नु होला । सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आफन्त र प्रियजनसँग भेटघाट हुनाले आनन्दित भइने छ, जीवनसाथीलाई प्रसन्न तुल्याउने प्रयास गर्नुहोस्, प्रसन्नतामा अझ बृद्धि हुनेछ । प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो, त्यस्तै तपाईंमा दिकदारी र चिडचिडेपन पनि हाबी हुनसक्छ । अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सरकारी कामकाज वा प्रशासनिक समस्या देखिएका छन् भने कागजपत्र मिलाउन उपयुक्त समय छ । सँगीसाथी र सहयोगीले तपाईंको काममा सहयोग गर्नेछन् । सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कार्यक्षेत्रमा गज्जबले समय व्यतीत हुनेछ, अझ राम्रो होस् भन्ने उद्देश्यले कुनै दुःखीलाई सहयोग गर्नु वा कुनै धार्मिक क्षेत्रमा दान गर्नु राम्रो हुन्छ । नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सहयोगीको साथ पाइँदैन, एैनमौकामा बन्नै लागेको काम पनि बिग्रनसक्छ, उता शरीरमा पनि कमजोरी देखिने छ, तथापि कारोबारमा आफैं खटेको जाती हुन्छ । लो ब्लडप्रेसरको समस्या छ भने स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ, त्यस्तै कुनै शङ्काले पिरोलेको छ भने विश्वस्त व्यक्तिसामु आफ्‌ना कुरा राख्नु ठीक हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ । सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ । दोधारेपन, अलमल र चिडचिडेपन हाबी हुने दिन हो, अझ पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति शङ्का उब्जनाले दिक्क लाग्ने समय छ ।

Sharing

प्रतिक्रिया दिनुहोस