• २०८३ असार ११ गते बिहिवार

केबलकार निर्माणको विरोधमा पाथिभरा क्षेत्र अशान्त

पाथीभरा केबलकारकाे बिरोधमा उत्रेका माथी दमन, राजेन्द्र महतोको आपत्ति
खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

माघ १३, ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका ३ जनाको अवस्था गम्भीर बनेको छ । झडपमा घाइते भएका यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वाको विराटनगरमा उपचार भइरहेको छ ।

प्रदर्शनको क्रममा ४ जना घाइते भएका थिए । यस्तै १ जना प्रहरी पनि घाइते भएका प्रहरीले जनाएको छ । ‘नो केबलकार’ भन्दै प्रदर्शन गरेका स्थानीयबासिन्दा र प्रहरीबीच हिजो झडप भएको हो ।

स्थानीयबासिन्दाले केबलकार निर्माणाधीन क्षेत्रमा ‘नो केबलकार’ भन्दै आजदेखि संघर्षका कार्यक्रम गर्ने बताएका थिए । तर स्थानीय प्रशासनले हिजै सशस्त्र र नेपाल प्रहरी खटाएर स्थानीयबासिन्दामाथि बल प्रयोग गरेको हो । स्थानीयबासिन्दाले ढुङ्गा र गुलेली हानेपछि गोली चलाउनुपरेको प्रहरीले दाबी गरेको छ ।

प्रहरीले आन्दोलनकारीबाट तीन वटा खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयलाई उद्धृत गर्दै राससले जानएको छ । हिमालयन कन्सट्रक्सनले केबलकार बनाउन गएको मङ्गलवारदेखि जमिन सम्याउने काम शुरु गरेसँगै स्थानीयबासिन्दा आन्दोलनमा छन् ।

शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेर गोली प्रहार गरेको भन्दै नागरिक समाज र राजनीतिक दलका स्थानीय नेताले विरोध गरेका छन् ।

पाथीभरा केबलकारकाे बिरोधमा उत्रेका माथी दमन, राजेन्द्र महतोको आपत्ति
ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित पवित्र मुकुलुंग (पाथीभरा) क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएका ‘नो केबलकार समूह’ का शान्तिपूर्ण आन्दोलनकारीहरूमाथि सरकारले बलपूर्वक दमन गरेको छ। शनिबार साँझ भएको यस घटनामा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा चार जना गम्भीर घाइते भएका छन्। घटनामा घाइते हुनेमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा, र मंगल लावती रहेका छन्। उनीहरूको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाइएको छ।

घटनाप्रति गहिरो आक्रोश व्यक्त गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालले प्रहरीद्वारा गरिएको बर्बर दमनको कडा निन्दा गरेको छ। पार्टीले विज्ञप्ति जारी गर्दै घाइते आन्दोलनकारीहरूको शीघ्र उपचार र न्यायको माग गरेको छ। पार्टीका अनुसार मुकुलुंग (पाथीभरा) कुनै साधारण स्थान नभई सम्पूर्ण नेपालीहरूको आस्था, परम्परा, र विश्वासको प्रतीक हो। ‘यो स्थललाई कुनै नाफामुखी परियोजनाका लागि प्रयोग गर्न दिनु अस्वीकार्य छ। यसलाई प्राकृतिक स्वरूपमा संरक्षण गर्नु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।

राष्ट्रिय मुक्ति पार्टीले बलपूर्वक लागू गरिएका परियोजनाहरूले स्थानीय समुदायको आस्था र सांस्कृतिक मूल्यमा ठेस पुर्‍याएको बताएको छ। पार्टीले पवित्र मुकुलुंगलाई कुनैपनि हालतमा केवलकारजस्ता परियोजनाबाट जोगाउनुपर्ने अडान राख्दै सरकारलाई चेतावनी दिएको छ। पार्टीले भनेको छ, ‘आस्था र धरोहर जनताको जीवनभन्दा प्रिय हुन्छ। कुनैपनि अन्यायपूर्ण योजनाका विरुद्ध जनताको संघर्ष कहिल्यै झुक्ने छैन।’

राष्ट्रिय मुक्ति पार्टीले निम्न तीन प्रमुख मागहरू अघि सारेको छ । मुकुलुंग क्षेत्रमा केवलकार निर्माण योजनालाई तुरुन्त खारेज गरिनु, घाइते आन्दोलनकारीहरूको शीघ्र उपचार र न्याय सुनिश्चित गरिनु र आन्दोलनरत नागरिकहरूसँग वार्ता र संवादमार्फत समस्याको समाधान गरिनुपर्ने रहेको छ । पवित्र स्थलमाथि सरकारले नाफाखोर योजनाहरू थोपर्न खोजेको भन्दै स्थानीयहरूले विरोध जनाउँदै आएका छन्। ‘खुवालुङ र मुकुलुंग केवल ढुंगा र पहाड होइनन्, यी हाम्रो आस्था र अस्तित्वका प्रतीक हुन्,’ आन्दोलनकारीहरूले भनेका छन ।

सरकारले शान्तिपूर्ण आन्दोलनमा गोली चलाएर जनताको आवाज दबाउन खोजेको छ। पार्टीले पवित्र स्थलहरूको संरक्षण र जनताको आस्थाको सम्मान गर्न सरकारलाई आग्रह गर्दै विकासका नाममा सांस्कृतिक र प्राकृतिक सम्पदाको विनाश सह्य नहुने स्पष्ट पारेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस