पौष १०, कपिलबस्तु। कपिलबस्तु जिल्लाको तौलिहवा–भैरहवा सडक खण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मायादेवी गाउँपालिकाको बर्रोहियामा भएको दुर्घटनामा डुमराका २५ वर्षीय ओसामा मोहम्मद मुसलमानको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको लु १८ प ८७६९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदैगरेको लु प्र ०१–००१ ख ०६८३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मुसलमानलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।