• २०८३ बैशाख ३० गते बुधवार

पोखराका नगर प्रमुख आचार्यसँग कोरियन राजदूत योङको भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष ८, काठमाडौं ।   पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ योङले भेटवार्ता गरेका छन् ।

भेटवार्तामा दुइपक्षीय साझा हितका विषयमा छलफल भएको महानगरको कार्यालयले जनाएको छ । सो अवसरमा कोरियाली सरकारको सहयोगमा पोखरामा सञ्चालनमा रहेका परियोजनाहरूको प्रगतिका विषयमा उक्त क्रममा समीक्षा समेत भएको छ । भेटवार्ताका क्रममा नगर प्रमुख आचार्यले कोरियाली बजारमा पोखराको पर्यटन प्रवर्द्धन, पोखरामा सञ्चालित परियोजनाहरूको कार्यान्वयन अवस्था, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सम्भावना र कोरियामा रहेका नेपाली विद्यार्थी तथा श्रमिकहरूको कोरिया बसाइ तथा अवस्था बारेमा राजदूत पार्कसँग छलफल भएको बताए ।

जवाफमा राजदूत पार्कले कोरियाली सरकारको सहयोगमा नेपाल आउने सहायता प्राप्त गर्ने सन्दर्भमा नगर प्रमुख आचार्यको सक्रियता प्रशंसनीय रहेको बताए । पोखरामा निकै राम्रा परियोजनाहरू सञ्चालनमा रहेको उल्लेख गर्दै पार्कले ती समयमा नै सम्पन्न हुने र यसले पोखराको दिगो विकासमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

अन्नपूर्ण क्षेत्रको पदयात्रामा धेरै कोरियाली पर्यटकहरूको चासो रहेकाले त्यसका लागि आफूहरू उनीहरूलाई प्रोत्साहन गर्ने बताए । कोरियाबाट फर्किएका रिटर्नीहरुले पोखरामा निकै राम्रो उद्यमहरू सञ्चालन गरेको आफूले पाएको भन्दै उहाँले खुसी समेत व्यक्त गरे ।

नगर प्रमुख आचार्यले पोखरामा बर्न अस्पताल स्थापना गर्ने सन्दर्भमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले अध्ययन सम्पन्न गरिसकेको उल्लेख गर्दै पोखराको विकासमा कोरियाली सहयोगको प्रशंसा गरेका थिए । पोखरामा कोरियाको सहयोगमा हरित यातायात प्रणालीको विकास सम्बन्धी परियोजना, हरित रोजगारी सृजना सम्बन्धी ग्रिन भेन्चर जोन (जिभिजेड) स्थापना लगायतका परियोजनाहरू सञ्चालनमा रहेका छन् ।

भेटवार्तामा उपप्रमुख मन्जुदेवि गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत हेम प्रसाद आचार्य, प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारी, सूचना प्रविधि तथा अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख सुवास ढुङ्गाना, इन्जिनियर नेत्र तिमिल्सीना लगायतको सहभागिता रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस