• २०८३ जेष्ठ १ गते शुक्रवार

नागरिक र विकासलाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई राष्ट्रपतिको आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले नागरिक र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुख र जिल्ला समन्वय समिति महासङ्घ नेपालका पदाधिकारीसँग आज राष्ट्रपति भवनमा भएको भेटघाट कार्यक्रममा राष्ट्रपति पाैडेलले नागरिकलाई ध्यानमा राखेर काम गरेमा मात्रै व्यवस्था बलियो हुने बताउनुभएको हो ।

विभिन्न कठिनाइका बाबजुद तीन तहका सरकार, निजी क्षेत्र, गैरसरकरी क्षेत्रको काममा समन्वय र अनुगमन गरेकोमा जिससको प्रसंशा गर्दै उहाँले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रूपमा रहेका निकायले नागरिक र विकासलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति पाैडेलले बजेट, योजना र कार्यादेशानुसार काम भए/नभएको अनुगमन र समन्वय गर्ने काममा आफ्नो भूमिका र क्रियाशीलता बढाएर राज्यको ध्यान आकर्षित गर्न पनि आग्रह गर्नुभयो । उहाँले आफ्नो भूमिकालाई आफैं क्रियाशील र जागरुक भएर प्रभावकारिता बढाउन पनि समन्वय समितिका प्रमुख एवम् उपप्रमुखलाई आग्रह गर्नुभयो ।

संविधानले सङ्घ, प्रदेश र पालिकाकाे व्यवस्था गरेको जनाउँदै राष्ट्रपति पौडेलले गाउँपालिका र नगरपालिकाबीच समन्वय तथा विकास निर्माणसम्बन्धी काममा सन्तुलन कायम गर्ने गरी अनुगमन गर्नेलगायतको महत्त्वपूर्ण जिम्मेवारीसहित जिल्ला समन्वय समितिको व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस