• २०८३ बैशाख ६ गते आइतवार

ताल–टिप्तला भञ्ज्याङ पर्यटन प्रवर्द्धन कार्यक्रम हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
पौष ६, काठमाडौं ।   ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले कोशी प्रदेशअन्तर्गत ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभाका प्रमुख पर्यटकीय गन्तव्य समेटेर ओलाङ्चुङगोला–सिङ्जेमा ताल–टिप्तला भञ्ज्याङ पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गर्ने भएको छ ।
आगामी चैत २६ गतेदेखि ‘टिप्तलाबाट नयाँ वर्ष’ भन्ने नारासहित आयोजना गरिने उक्त कार्यक्रमको उद्देश्य यस क्षेत्रको प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा साहसिक पर्यटनको प्रवर्द्धन गर्नु रहेको सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङले बताउनुभयो ।
चैत २६ गते काठमाडौँबाट सुरु हुने उक्त कार्यक्रम वैशाख १ गते नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको हो ।
अध्यक्ष तामाङका अनुसार प्रवर्द्धन कार्यक्रममा जनप्रतिनिधि, पर्यटन व्यवसायी, यात्री, सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा स्थानीय बासिन्दासहित सयौँको सङ्ख्यामा सहभागिता रहने अपेक्षा गरिएको छ । कम प्रचारमा परेका हिमाली तथा पहाडी क्षेत्रलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटन बजारमा चिनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
काठमाडौँबाट यात्रा सुरु गरी धरान–वसन्तपुर–तीनजुरे–गुफा पोखरी–मिल्के–साँघु–फुङ्लिङ–लेलेप–तापेथोक–ओलाङचुङ्गोला–टिप्तला–सिङ्जेमा ताल–फुङ्लिङ–फिदिम हुँदै पुन धरान–काठमाडौँसम्मको हुनेछ । वसन्तपुरदेखि तीनजुरे–मिल्के–जलजले क्षेत्र हुँदै हुने यात्रा गुराँस फुल्ने मौसमसँग मेल खाने भएकाले ‘गुराँसको राजधानी’का रूपमा चिनिने यो क्षेत्र यात्रीका लागि विशेष आकर्षण बन्ने विश्वास आयोजकले लिएका छन् ।
पदयात्राका क्रममा फोटो, भिडियो, लेख तथा वृत्तचित्र सामग्री तयार गरी राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने तयारीसमेत गरिएको छ । कार्यक्रमको तयारी ताप्लेजुङ सरोकार केन्द्रका उपाध्यक्ष मिङ्मा डण्डु लामाको संयोजकत्वमा भइरहेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस