असोज ५, काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज औँसी तिथिमा तर्पण, सिदादान र पिण्डदानसहित समापन हुँदैछ।

धार्मिक विश्वासअनुसार पितृपक्षका १५ दिन र आश्विन शुक्ल प्रतिपदासहित १६ दिनसम्म दिवङ्गत पितृलाई सम्झेर श्राद्ध गर्ने परम्परा छ। यसैले यसलाई सोह्रश्राद्ध भनिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार कुनै कारणवश समयमा श्राद्ध गर्न नसकिएमा आश्विन शुक्ल पञ्चमीसम्म गर्न सकिने प्रावधान छ। अझै गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजासम्म, अन्तिममा भने वृश्चिक सङ्क्रान्तिसम्म पनि गर्न सकिने धार्मिक मान्यता छ।
श्राद्ध विधिपूर्वक नगर्दा पितृ असन्तुष्ट भई सन्तानलाई श्राप दिने विश्वास हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुजस्ता धर्मग्रन्थमा उल्लेख गरिएको छ। त्यसैले यस अवधिमा पिण्ड, जल र श्रद्धाभावका साथ पितृलाई सम्झनु अपरिहार्य मानिन्छ।
आज उपत्यकाको गोकर्णेश्वर, नुवाकोट-रसुवाको बेत्रावती, चितवनको देवघाट, नवलपरासीको त्रिवेणीलगायत तीर्थस्थलमा श्राद्ध गर्न आएका श्रद्धालुहरूको घुइँचो देखिएको छ।
पितृपक्षको समापनसँगै भोलि ६ असोज सोमबार घटस्थापनादेखि दुर्गापक्ष अर्थात् बडादसैँ औपचारिक रुपमा सुरु हुँदैछ।