• २०८३ जेष्ठ २२ गते शुक्रवार

टिकटकको अल्गोरिदममा अमेरिकी नियन्त्रण, सातमध्ये ६ बोर्ड सिट अमेरिकीलाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ५, काठमाडौं । टिकटकको अमेरिकास्थित सञ्चालनमा अमेरिकी नियन्त्रण हुने भएको छ । अमेरिका र चीनबीचको नयाँ सम्झौताअनुसार यस्तो हुन लागेको हो ।

टिकटकको भिडियो फिड चलाउने अल्गोरिदममा अमेरिकी कम्पनीको नियन्त्रण रहनेछ । सात सदस्यीय बोर्डमध्ये अमेरिकाका नागरिकले ६ सिट पाउने ह्वाइट हाउसले शनिबार जनाएको छ ।

अमेरिका र चीनबीचको विवादको मुख्य मुद्दा टिकटकको चिनियाँ मूल कम्पनी बाइटडान्सले आफ्नो स्वामित्व बेचेपछि पनि अल्गोरिदममा उसले नियन्त्रण राख्छ/राख्दैन भन्ने थियो ।

अमेरिकी कंग्रेसले जनवरीमा टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइटडान्स र अमेरिकी कम्पनीबीच सम्झौता गर्न सकोस् भनेर बारम्बार आदेश जारी गर्दै टिकटकलाई अस्थायी छुट दिएका थिए ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले प्रविधि कम्पनी ओरेकलले टिकटकको डेटा र सुरक्षाको जिम्मेवारी सम्हाल्ने जानकारी दिइन् । साथै, उनले प्रस्तावित सात सदस्यीय बोर्डमध्ये ६ सिटमा अमेरिकीको नियन्त्रण रहने स्पष्ट गरिन् ।

उनले भनिन्, “हामी सम्झौता पक्का भइसकेको छ भन्ने १०० प्रतिशत विश्वस्त छौँ । अब हस्ताक्षर गर्न मात्र बाँकी छ र राष्ट्रपतिको टोली आफ्ना चिनियाँ समकक्षीसँग मिलेर यही काममा जुटिरहेको छ ।”

शुक्रबार ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच टिकटक सम्झौताबारे फोनमा लामो कुराकानी भएको थियो । ट्रम्पले अमेरिकी लगानीकर्ता तयार रहेको र सीले याृ मामिलामा सहयोगी अडान देखाएको बताएका थिए ।

ट्रम्पलाई के चीनले अल्गोरिदममा नियन्त्रण राख्छ ? भन्ने प्रश्न सोधिएको थियो । उनले यसमा पूर्ण रूपमा काम भइरहेको र अमेरिकी नियन्त्रण निकै मजबुत हुने बताए ।

ट्रम्प–सीको फोन कुराकानीपछि चिनियाँ सरकारले विज्ञप्ति जारी गरेको थियो । तर, उक्त विज्ञप्तिमा अमेरिकी प्रतिबन्धबाट जोगिन टिकटकको चिनियाँ मूल कम्पनीले स्वामित्व बेचेको वा सीले के सहमति जनाएका थिए भन्नेबारे स्पष्ट गरिएको थिएन ।

यसबारे लेभिटले सम्झौतालाई छिट्टै अन्तिम रूप दिइने अपेक्षा गरिएको बताइन् । उनले भनिन्, “अब हस्ताक्षर मात्र बाँकी छ । आशा छ, अबका दिनमा यो हुनेछ ।” एपीबाट ।

Sharing

प्रतिक्रिया दिनुहोस