असोज ४, गाजा । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश गरेको छ । ‘बिदाइ तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको छैन । टाइम्स अफ इजरायलले भने हमासले सार्वजनिक गरेको तस्वीरलाई बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिन खोजेको उल्लेख गरेको छ ।

इजरायलले गरेको व्यापक स्थलगत र हवाई आक्रमणबाट गाजा क्षेत्रमा राखिएका बन्दीहरूको सुरक्षालाई खतरा पुर्याएको हमासले जिकिर गरेको छ ।
सञ्चार संस्था अल जजिराका अनुसार, इजरायली सेनाले घेरिएको क्षेत्रको सबैभन्दा ठूलो सहरलाई ध्वस्त पार्ने र नियन्त्रणमा लिने अभियान जारी राखेको बेला हमासले यो बिदाई तस्वीर सार्वजनिक गरेको हो ।
कस्साम ब्रिगेड्सले शनिबार अनलाइनमा एउटा संकलित फोटो पोस्ट गरेको छ । त्यसमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको छ । तिनीहरू सबैलाई ‘रोन अराड’ भनेर क्याप्सनमा उल्लेख गरिएको छ ।
अल जजिराका अनुसार, रोन अराडले सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका क्याप्टेनलाई जनाउँछ ।