• २०८३ बैशाख ५ गते शनिवार

झडपपछि सिमरा विमानस्थलको गेट तोडियो, कर्फ्यू आदेश जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, बारा । नेकपा एमालेका कार्यकर्तासँग झडप भएपछि आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको मुख्य गेट तोडेको छ। केही युवाहरूले विमानस्थल प्रवेशद्वारमा रहेको फलामे गेट बाहिरबाट धकेल्दै भाँचिदिएका हुन्।

घटनाका क्रममा विमानस्थलको मुख्य गेटमा दुई जना मात्र प्रहरी तैनाथ थिए। युवाहरूले गेट धकेल्न सुरु गरेपछि प्रहरीले रोक्ने प्रयास गरे पनि सफल हुन सकेन। गेट भाँचिँदै प्रहरीकै शरीरमाथि खसेको प्रहरीले जनाएको छ। गेट फुटेपछि केही युवाहरू विमानस्थलभित्र छिरेका थिए, तर केहीबेरमै सुरक्षाकर्मीले उनीहरूलाई बाहिर निकालेका छन्।

युवा संघको कार्यक्रममा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतसहितको टोली आज बारा जाँदै थियो। नेताहरू त्यहाँ पुग्नुअघि नै सिमरा बजार क्षेत्रमा स्थानीय युवा र एमाले कार्यकर्ताबीच झडप भएको थियो। सोही झडपपछि आक्रोशित केही युवाहरू विमानस्थल पुगेर गेट तोड्दै भित्र प्रवेश गरेका थिए।

स्थिति थप तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल क्षेत्र र आसपासका ठाउँमा कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू आज दिउँसोबाट लागू भएको र आगामी सूचना नभएसम्म प्रभावकारी रहने जनाइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस