असोज ३, काठमाडौं । अफगानिस्तानमा तालिबानले सात महिनादेखि थुनामा रहेका एक बेलायती जोडीलाई रिहा गरेको छ । यो कदम आफ्नो सरकारको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने बृहत् तालिबानी प्रयासको एक हिस्सा मानिएको छ ।

रिहा गरिएका जोडी, पिटर रेनोल्ड्स र बार्बी रेनोल्ड्स, विगत १८ वर्षदेखि अफगानिस्तानको बामियान प्रान्तमा बस्दै आएका थिए र त्यहाँ शिक्षा र तालिम संस्था चलाउँथे । जब तालिबानले अमेरिका समर्थित अफगान सरकारलाई अपदस्थ गर्यो र २०२१ मा सत्ता हातमा लियो, उनीहरूले भाग्नुको सट्टा त्यहीं बस्न रोजे ।
अमेरिका र तालिबान बीचको शान्ति वार्तामा प्रमुख भूमिका खेलेको कतारले यस पटक पनि जोडीको रिहाइमा मध्यस्थता गरेको थियो । एक कतारी कूटनीतिज्ञले जोडी शुक्रबार अफगानिस्तानबाट प्रस्थान गरेको बताएका छन् ।
बेलायतमा रहेको रेनोल्ड्स दम्पतीको परिवारले निरन्तर उनीहरूको रिहाइको माग गर्दै आएको थियो । उनीहरूले सो जोडीलाई अमानवीय अवस्थामा राखिएको र कुनै विशेष अपराधको आरोप लगाइएको बताउदै आएका थिए । तालिबानले यी आरोपहरूलाई अस्वीकार गर्दै आएपनि यो दम्पतीलाई किन पक्राउ गरियो भनेर अहिलेसम्म स्पष्ट पारेको छैन । जुलाईमा, संयुक्त राष्ट्र मानव अधिकार विज्ञहरूले दम्पतीको शारीरिक र मानसिक स्वास्थ्य द्रुत गतिमा बिग्रँदै गइरहेको र यदि उनीहरूलाई चाँडै रिहा गरिएन भने उनीहरूको मृत्यु हुन सक्ने चेतावनी दिएको थियो । यो चेतावनीको कारणले अन्तर्राष्ट्रिय दबाब अझ बढ्यो ।
२०२१ मा सत्तामा आएदेखि, तालिबानले महिला अधिकार, मानवअधिकार उल्लङ्घन र मनमानी गिरफ्तारीको लागि निरन्तर आलोचनाको सामना गरिरहेको छ । पश्चिमी देशहरू यस्ता घटनाहरूले तालिबान सरकारलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नमा महत्त्वपूर्ण बाधा पुर्याउने चेतावनी दिदै आएका थिए । विज्ञहरू रेनोल्ड्स दम्पतीको रिहाइ तालिबानले विश्वसँगको सम्बन्ध सुधार गर्न सकारात्मक सन्देश पठाउने प्रयास हुन सक्ने विश्लेषण गरेका छन् ।