मंसिर २, काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा सक्रिय रहेका आठ बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पाँच र सोमबार तीन गरी आठ जनालाई नियन्त्रणमा लिएको हो।

अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यका अनुसार पक्राउ परेकाले राहदानी बनाउन गएका सेवाग्राहीलाई दु:ख हैरानी दिने, प्रक्रिया झन्झटिलो बनाएर छिटो काम गरिदिने बहानामा रकम असुले गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
पक्राउ परेकाहरूमाथि अहिले विस्तृत सोधपुछ जारी रहेको र अनुसन्धान पूरा नहुँदासम्म उनीहरूको व्यक्तिगत विवरण सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।
पछिल्ला दिनमा राहदानी विभागमा बिचौलियाको दादागिरी र सेवाग्राही ठगिएको गुनासो बढेपछि प्रहरीले विभाग वरपर निरीक्षण र निगरानी कडा पारेको थियो। सोही क्रममा बिचौलिया गतिविधि पुष्टि भएपछि कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।