मंसिर २, काठमाडौं। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको आधिकारिक वेबसाइट ह्याक भएको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले सोमबार वेबसाइट ह्याक भएको पुष्टि गर्दै, तत्कालै रिकभरी कार्य सुरु गरिएको जानकारी दिएका छन्।

प्रवक्ता काफ्लेका अनुसार घटना भएको करिब केही समयमै वेबसाइटका मुख्य पेजमा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरिएको संदेश देखिएको थियो। हाल भने उक्त संदेश हटाइएकाे छ र वेबसाइट सम्पूर्णरूपमा निष्क्रिय देखिन्छ।
काफ्लेले प्रारम्भिक मूल्यांकनका आधारमा वेबसाइटमा रहेका डाटा सुरक्षित रहेको बुझिएको बताए। “साइट ह्याक भएको छ, तर महत्वपूर्ण डाटाबेस प्रभावित नभएको प्रारम्भिक संकेत छ,” उनले भने।
विभागका कर्मचारीहरूले पनि ह्याक गरिएको वेबसाइटमा राष्ट्रिय परिचयपत्र (National ID) सम्बन्धी संवेदनशील विवरण नरहेको बताएका छन्। उनका अनुसार वेबसाइटमा “सामान्य सूचनात्मक कागजात मात्रै” रहेका छन् र ती पनि सुरक्षित रहेको दाबी गरिएको छ।
ह्याक कसले र कहाँबाट गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको गृह मन्त्रालयले जनाएको छ। यसअघि निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्दै गर्दा राष्ट्रिय परिचयपत्रका विवरणहरूसँग जोडिएको प्रणाली प्रयोग गरिएको थियो। तर, ह्याक भएको वेबसाइट उक्त डाटाबेससँग प्रत्यक्ष रूपमा नजोडिएको विभागले स्पष्ट पारेको छ।