कात्तिक १, काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दिउँसो ठूलो आगलागी भएको छ । विमानस्थलको कार्गो टर्मिनलमा दिउँसो आगलागी भएपछि उडान प्रभावित भएका छन् । आगो यति तीव्र थियो कि कालो धुवाँले सम्पूर्ण क्षेत्रलाई ढाकेको थियो, जसले गर्दा सबै उडानहरू तुरुन्तै स्थगित गरियो ।\

बंगलादेश नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले दिउँसो लागेको आगो हाल करिब नियन्त्रणमा आएको बताएका छन् । आगलागी नियन्त्रणमा फायर फाइटरका ३५ युनिटले काम गरेको बंगलादेशको मिडिया डेली स्टारले उल्लेख गरेको छ ।
प्राधिकरणले सबै विमानहरू सुरक्षित रहेको र स्थिति नियन्त्रणमा नआएसम्म सबै अवतरण र उडानहरू निलम्बित गरिएको बताएको छ ।
हालैका दिनहरूमा बंगलादेशमा यो तेस्रो ठूलो आगलागी हो । मंगलबार, ढाकामा चार तले कपडा कारखाना र रासायनिक गोदाममा आगलागी हुँदा १६ जना कामदारको मृत्यु भएको थियो भने धेरै जना घाइते भएका थिए ।