• २०८३ भाद्र २१ गते आइतवार

जेनजीका माग पूरा नगरी संसद पुनःस्थापना गर्नु हुँदैन : ज्ञानेन्द्र शाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जेनजीका माग पूरा नगरी संसद् पुनःस्थापना गर्नु नहुने बताएका छन् । बुधबार सभामुख देवराज घिमिरेसँग भएको छलफलका क्रममा शाहीले राप्रपाको स्पष्ट अडान सभामुखसमक्ष राखिएको जानकारी दिए ।

उनका अनुसार, जेनजीका मागहरू राष्ट्रको संरचना र शासन प्रणाली सुधारसँग सम्बन्धित छन् र ती पूरा नगरी संसद् पुनःस्थापना गर्नु अर्थहीन हुनेछ । उनले भने, ‘हामीले सभामुखलाई स्पष्ट रूपमा भनेका छौँ । जेनजीका माग पूरा नगरी संसद् पुनःस्थापना गर्नु हुँदैन । अहिलेको प्रमुख माग प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हो, त्यसलाई स्वीकार गरी संसदबाट पारित गर्ने प्रतिबद्धता भए मात्र पुनःस्थापना गर्नुपर्छ, नत्र नगरौँ।’

शाहीले प्रदेश संरचना खारेज, गैर दलीय स्थानीय तहको व्यवस्था, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति रोक्ने व्यवस्था, र भ्रष्टाचार नियन्त्रणका लागि संविधानका वाधक धाराहरू संशोधन गर्नुपर्ने जेनजीको माग रहेको बताए । उनले थपे, ‘देशमा भ्रष्टाचार व्याप्त छ, त्यसलाई नियन्त्रण गर्न संविधानका केही धाराहरू वाधक बनेका छन्, ती धाराहरू परिमार्जन गर्ने प्रतिबद्धता आवश्यक छ ।’

त्यसैगरी उनले नेपालको संविधानले १८ वर्ष उमेर पूरा गरेका नागरिकलाई मतदानको अधिकार त दिएको तर उम्मेदवार बन्न रोक लगाउने व्यवस्था अन्यायपूर्ण भएको भन्दै उमेर सीमा हटाउनुपर्ने पनि सुझाव दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस