• २०८३ साउन २१ गते बिहिवार

झुम्का कारागारको १८ फिट अग्लो पर्खाल नाघेर कैदी फरार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २९, सुनसरी। सुनसरीको झुम्का कारागारको १८ फिट अग्लो पर्खाल नाघेर बुधबार बिहान एकजना कैदी फरार भएका छन् । सामूहिक बलात्कार मुद्दामा सजाय भोगिरहेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका– २ घर भएका २८ वर्षीय रूपक पौडेल खत्री कारागारबाट फरार भएको जेलर सुवासकुमार लामिछानेले बताए ।

उनी बुधबार बिहान करिब २ बजे कारागारको बी ब्लकबाट १८ फिट अग्लो पर्खाल नाघेर फरार भएको जेलर लामिछानेले बताए । ‘मुढा बुन्ने बाँसहरूको सहयोगमा अप्रत्याशित रूपबाटै भागेको देखिन्छ,’ उनले भने, ‘योजनासहित करिब १८ फिट अग्लो पर्खाल नाघेर भागेको पाइएको छ ।’ वर्षा भइरहेकाले उनी भागेको थाहा हुन नसकेको लामिछानेको भनाइ छ । फरार कैदीको खोजी रहेको उनले बताए । जिल्ला अदालत सुनसरीले गत २५ चैतमा खत्रीलाई १३ वर्ष कैद सजायको फैसला गरेको थियो । त्यसअघि उनी २१ साउन ०८१ बाट पुर्पक्षका लागि कारागारमा थिए ।

यसअघि २३ कात्तिक ०६९ मा पनि झुम्का कारागारबाट सुरुङ खनेर १२ जना कैदी फरार भएका थिए । जसमध्ये एकजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर गत २४ कात्तिक ०८१ मा सार्वजनिक गरेको थियो । ११ जना अझै फरार छन् । एक हजार ६ सय कैदीबन्दी क्षमता रहेको झुम्का कारागारमा हाल एक हजार ७९५ छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस