बैशाख ३१, काठमाडौं । सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्ने सगरमाथा संवादबारे समाचार सम्प्रेषण सहज बनाइने भएको छ ।
संवादको प्रचार–प्रसार तथा मिडिया समितिको आज बसेको बैठकले नेपाल टेलिभिजनबाट हुने प्रत्यक्ष प्रसारण र ‘हुकिङ’ सुविधाको व्यवस्थापन गर्ने निर्णय गरेको हो । त्यसका लागि नेपाल टेलिभिजन, सूचना तथा प्रसारण विभाग, राष्ट्रिय समाचार समिति र गोरखापत्रबाट आवश्यक जनशक्ति खटाइने छ ।
खिचिएका फोटोहरू र भिडियो समितिका संयोजक लोकबहादुर पौडेल क्षेत्रीलाई यथासमयमा प्रवाह गर्ने र उहाँको नेतृत्वमा ‘ट्विट’, ‘प्रेस रिलिज’, ‘ब्रिफिङ’ र ‘प्रेस बुलेटिन’ जारी गर्न कार्यक्रमस्थलमा टोली रहने व्यवस्था गरिएको छ । टोलीमा समितिका संयोजक क्षेत्री, सदस्य डा प्रकाशसिंह थापा र दीपक घिमिरे रहनुभएको छ ।