• २०८३ बैशाख १९ गते शनिवार

काँग्रेस कार्यकर्तालाई शेखर कोइरालाको आव्हान- जनताको केन्द्रमा बस्ने अभियानमा लागौं

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

भदौ २८, काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले न दाजुको न भाईको कांग्रेस कांग्रेसजनको भनेर अगाडि बढ्नुपर्ने बताएका छन् । शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै कोइरालाले अब नयाँ परिस्थितिमा सत्ताको केन्द्रमा को छ ? पार्टी केन्द्रमा को छ ? अब यस्ता विषय गौंण भएको उल्लेख गर्दै पार्टी न दाजुको न भाईको कांग्रेस कांग्रेसजनको भनेर अगाडी बढ्न कांग्रेस कार्यकर्तालाई आव्हान गरेका छन् ।

उनले भनेका छन्- ‘सत्ताको केन्द्रमा को छ ? पार्टी केन्द्रमा को छ ? अब यस्ता विषय गौंण भए । हामी जनताको केन्द्रमा बस्ने अभियानमा लागौं । पार्टी ‘न दाजुको न भाईको कांग्रेस कांग्रेसजनको’ भनेर अगाडी बढौं । जनताको भरोसा र विश्वासलाई शिरोधार्य गर्दै अगाडि बढे राष्ट्र निर्माणको अभिभारा स्वतः तपाई हाम्रो जिम्मेवारीमा आउँछ ।’

कोइरालाले कांग्रेसभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने जिम्मेवारी सबैको भएको उल्लेख गर्दै यसको लागि देशव्यापी बहश, छलफल र विवेकपूर्ण कदमहरु कसरी अगाडि बढाउन दशैं लगत्तै देशव्यापी रुपमा जाने बताएका छन् ।

कोइरालाले देशको राजनीतिमा नयाँ प्रयोग अगाडि आएको बताउदै जेनजीको नाममा भएको सार्वजनिक सम्पतिको लुटपाट र आगजनी, व्यक्तिको सम्मानमा पुर्‍याएको पासविक व्यवहार र समाजमा फैलाएको त्रासलाई किमार्थ आन्दोलन वा समाज परिवर्तन भन्न नसकिने बताए ।

उनले भनेका छन्- ‘मुलुक भित्र उत्पन्न राजनीतिक परिस्थितिवारे हामी सवै जानकार नै छौं । मुलुक वेगवानरुपमा नयाँ दिशातर्फ दौडिन खोजेको छ । देशको राजनीतिमा नयाँ प्रयोग अगाडि आएको छ । हामीले यसलाई सतर्कतापूर्वक हेर्नुपर्छ । यही भाद्र २३ र २४ गते देशमा जे जस्ता घटनाहरु घटे र त्यसको परिणाम स्वरुप ‘जेनजी’ आन्दोलनको युवा उर्जा र चेतनावाट प्रस्फुटन भएको नयाँ सरकारले आम नागरिकको भरोसा र बिश्वास जितेर काम गर्नेछ भन्नेमा म बिश्वस्त छु । म यहाँ जेनजी आन्दोलनलाई कसरी हेर्नुपर्छ र तत्कालिन सरकारले कसरी हेर्यो भन्नेबारे समिक्षा गर्दिन, यसवारे मैले भाद्र २३ गते सरकार संयम भएन भनेर आफ्नो विचार सार्वजनिक रुपमा राखेको कुरा साथीहरुलाई विदितै छ । भाद्र २४ गते आन्दोलनको आव्हान गर्ने जेनजीको नाममा भएको सार्वजनिक सम्पतिको लुटपाट र आगजनी, व्यक्तिको सम्मानमा पुर्याएको पासविक व्यवहार र समाजमा फैलाएको त्रासलाई किमार्थ पनि सभ्य समाजले २१ औं शताव्दीमा आन्दोलन वा समाज परिवर्तन भन्न सक्तैन ।’

साथै कोइरालाले कांग्रेसका सभापति शेरबहादुर देउवा जसको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहास रहेको बताउदै देउवामाथि घरमा बसिरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई आफूले जघन्य अपराधको कोटीमा राख्ने बताए ।

उनले भनेका छन्- ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहाँस छ, उहाँ माथि घरमा बसिरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु, यसको जति निन्दा गरेपनि कम हुन्छ । हिजो कांग्रेस कहाँ चुक्यो ? के भयो ? र के हुनुपर्थ्यो ? भनेर म यहाँ समय खर्च गर्न चाहन्न । अब नयाँ परिस्थितिमा नेपाली कांग्रेसका साथीहरु कसरी अगाडि बढ्ने भन्ने प्रश्न हामी सामु छ । यस विषम परिस्थितिमा हाम्रो पार्टीका अग्रजहरुवाट हामी शिक्षा लिन सक्छौं । हाम्रा अग्रजहरु विपी कोइराला, गणेशमान सिंह , कृष्णप्रसाद भटराई, गिरिजाप्रसाद कोइराला लगायत अनेकन् योद्धाहरुले लोकतान्त्रिक आन्दोलनमा छोडेको पदचिन्हबाट भावी कांग्रेसको दिशा निर्धारण गर्नुपर्दछ ।’

May be an illustration of text

May be an illustration of map, tree and text

Sharing

प्रतिक्रिया दिनुहोस