चैत २९, काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले तीनकुनेमा भएको हिंसात्मक घटनाबारे सोधपुछ गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन प्रस्ताव गर्नुभएको छ ।

आज सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितको बैठकमा सांसद परियारले पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्नता भए/नभएकोबारे सोध्नुपर्ने बताउनुभएको हो ।
सांसद परियारले तीनकुने घटनाबारे पूर्वराजा शाहलाई ‘तपाईं एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न पाउनुहुन्छ ?’ भन्दै प्रश्न गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा अराजकता मच्चाउने छुट कसैलाई पनि नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद परियारले भन्नुभयाे, ‘पूर्वराजा ज्ञानेन्द्रलाई गएकाे फागुन २५ गते पोखराबाट फर्किने क्रममा नागरिकले जुन स्वागत गरे त्यो आवश्यक थियो कि थिएन ? १५ गतेको घटनामा उहाँ संलग्न हुनुहुन्छ कि हुनुहुन्न ? भन्नेबारेमा बुझ्न यो समितिमा बोलाऔँ ।’