
समारोहमा ऊर्जामन्त्री खड्काले नव नियुक्त सिइओ रजौरियालाई बधाई दिँदै बूढीगण्डकीजस्तो बृहत् र रणनीतिक राष्ट्रिय आयोजना कार्यान्वयनको चरणमा प्रवेश गर्ने मोडमा छ। त्यसैले अब स्पष्ट कार्ययोजना सहित गुणस्तरीय प्रगति देखिने गरी अघि बढ्न निर्देशन दिए । मन्त्री खड्काले आयोजनामा पारदर्शिता, दक्षता र समयपालनाको सुनिश्चितता आवश्यक रहेको उल्लेख गर्दै, रजौरियाको तीन दशक लामो व्यावसायिक अनुभवले आयोजनालाई गति दिने विश्वास व्यक्त गरे।
साथै, आयोजनालाई सार्वजनिक–निजी साझेदारी मोडलमा अगाडि बढाउने विषयमा नीतिगत स्पष्टता र लगानी सुरक्षाको वातावरण सिर्जना गर्नु नेतृत्वको पहिलो प्राथमिकता हुनुपर्नेमा पनि उनले जोड दिए।
ऊर्जामन्त्री खड्काले भने, “झण्डै १२०० मेगावाट क्षमताको यो बृहत् बहुउद्देश्यीय आयोजनाबाट विद्युत् उत्पादनसँगै सिंचाइ, बाढी नियन्त्रण, पर्यटन र रोजगारी सिर्जनामा समेत योगदान हुने अपेक्षा गरिएको छ। यस्तो राष्ट्रिय महत्वको आयोजनामा समयमै लक्ष्य र उद्देश्य हासिल गरी मुलुक र जनताले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण तयार गर्नु प्रमुख कार्यकारीको दायित्व हो।”
समारोहमा मन्त्रालयकी सिंचाई सचिव सरिता दवाडी, सहसचिवहरु, मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।