मंसिर २१, काठमाडौं । अफ्रिकी देश बेनिनमा सैन्य ‘कू’ को प्रयास असफल भएको छ । सेनाको एउटा समूहले गरेको विद्रोहको प्रयास असफल भएको देशका आन्तरिक मन्त्री अला साने सेइडोउले जानकारी दिएका हुन् ।

सेनाको एउटा समुहले सरकार विघटन गरेको र राष्ट्रपतिलाई पदबाट हटाएको दाबी गरेका थिए । त्यसपछि देशका आन्तरिक मन्त्री सेइडोउले फेसबुकमा एउटा भिडियो जारी गर्दै विद्रोह विफल पारिएको बताएका छन् । उनले बेनिन सेना देशको सुरक्षाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
बेनिनमा राष्ट्रपति प्याट्रिस ट्यालोन २०१६ देखि सत्तामा छन् । अर्को वर्ष अप्रिलमा हुने चुनावपछि उनले पद त्याग्ने भएका छन् । उनको पार्टीका उम्मेदवार, पूर्व अर्थमन्त्री रोमुआल्ड वाडाग्नीलाई चुनावमा सबैभन्दा बलियो दावेदार मानिन्छ ।
बेनिनले १९६० मा फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको थियो । त्यसबेलादेखि, देशले धेरै विद्रोह र सैन्य विद्रोहहरूको अनुभव गरेको छ । यो देश विगत केही दशकदेखि राजनीतिक रूपमा स्थिर रहेको थियो ।