मंसिर १९, काठमाडौं । रुस–युक्रेन युद्धको समयमा रुसद्वारा स्थानान्तरण र निर्वासित गरिएका युक्रेनी बालबालिकाहरूको फिर्ताको माग गर्दै पेस गरिएको प्रस्तावमा संयुक्त राष्ट्रसंघमा मतदान भएको छ । बुधबार पेस गरिएको यस मस्यौदा प्रस्तावलाई १९३ सदस्य राष्ट्रमध्ये ९१ देशले समर्थन गरेका थिए भने १२ देशले विरोध गरे । ५७ देश मतदानबाट टाढा रहेका छन् ।

मतदानबाट अलग रहने देशहरूमा भारत, बहराइन, बंगलादेश, ब्राजिल, चीन, इजिप्ट, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका छन् ।
प्रस्तावको शीर्षक ‘रिटर्न अफ युक्रेनियन चिल्ड्रेन’ अर्थात् युक्रेनी बालबालिकाको फिर्ती थियो । यस प्रस्तावले युद्धको समयमा बालबालिकामा परेको असर र विशेष गरी २०१४ देखि परिवारबाट अलग गरिएका बालबालिकाको अवस्थामाथि चिन्ता व्यक्त गरेको छ ।
प्रस्तावमा धेरै बालबालिकालाई रुसले कब्जा गरेको युक्रेनी इलाकाहरूबाट जबरजस्ती लगिएको वा रुसमा निर्वासित गरिएको बताइएको छ ।
प्रस्तावले रुसलाई तत्काल, सुरक्षित र बिनासर्त सबै बालबालिकाको फिर्ती सुनिश्चित गर्न माग गरेको छ । साथै, बालबालिकाको जबरजस्ती विस्थापन, परिवारबाट अलग, नागरिकता परिवर्तन, धर्मपुत्र/धर्मपुत्री बनाउने वा वैचारिक प्रभाव पार्नेजस्ता गतिविधि रोक्न आह्वान गरेको छ ।
रुसको प्रतिक्रिया
रुसकी उप–स्थायी प्रतिनिधि मारिया जाबोलोत्स्कायाले यस प्रस्तावलाई असत्य आरोपहरूले भरिएको भन्दै टिप्पणी गरेकी छन् ।
उनले रुसको आलोचना गर्नेहरूले धेरै बालबालिकालाई सुरक्षाको कारणले युद्ध क्षेत्रहरूबाट निकालिएको वा उनीहरूले आफ्ना परिवारसँगको सम्पर्क गुमाएको हुनसक्ने विषय बिर्सिएको बताएकी छन् ।
जाबोलोत्स्कायाले भनिन्, “युक्रेनी शरणार्थीहरूलाई रुसी नागरिकता दिने सरल प्रक्रिया विश्वभरका शरणार्थीहरूका लागि सपनाजस्तै हो र यो पूर्ण रूपमा स्वैच्छिक छ ।”
उनले प्रस्तावको पक्षमा दिइएको हरेक मतलाई झूट, युद्ध र टकरावको समर्थन मानेकी छन् । उनले विरोधमा दिइएको मतलाई शान्तिको पक्षमा दिइएको मत भनेकी छन् ।
युक्रेनकी उप–विदेश मन्त्री मारियाना बेत्साले अक्टोबर २०२५ सम्म ६ हजार ३९५ बालबालिकाको जबरजस्ती स्थानान्तरण पुष्टि भएको र २० हजार भन्दा बढी मुद्दाहरूको अनुसन्धान जारी रहेको बताइन् ।
यूएन महासभाकी अध्यक्ष अन्नालेना बैरबोकले बालबालिकाको फिर्तीको मुद्दालाई रुसको आक्रमणबाट अलग गरेर हेर्न नसकिने बताइन् ।
उनले फेब्रुअरी २०२२ देखि महासभाले आठ प्रस्तावहरू मार्फत रुसलाई युक्रेनको सम्प्रभु भूमिबाट तत्काल र पूर्ण रूपमा फिर्ता हुन माग गरेको स्मरण गरेकी छिन् ।
उनले रुसको हमलाले लामो समयसम्म युद्धलाई मात्रै जन्म नदिएर सम्पूर्ण क्षेत्र र विश्वव्यापी स्थिरतामाथि गम्भीर असर पारेको बताएकी छन् । टाइम्स अफ इन्डियाबाट ।