साउन २०, बुटवल। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभान–झुम्सा सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

लगातारको वर्षाका कारण सिद्दबाबा क्षेत्र, दोभान लगायतका कम्तीमा चार–पाँच स्थानमा साना–ठूला पहिरो खसेको प्रहरीले जनाएको छ। प्रहरी चौकी दोभानका अनुसार लगातार वर्षा भइरहेकाले तत्काल सडक सुचारु हुने सम्भावना न्यून देखिएको छ। पहिरोका कारण सडक सोमबार साँझ ७ बजेदेखि पूर्णरूपमा अवरुद्ध भएको हो।
तिनाउ गाउँपालिका–३ का वडा अध्यक्ष चित्र बहादुर थापाले सडकमा थप जोखिम हुन सक्ने जनाउँदै मोटरसाइकल, बोलेरो लगायत साना सवारी साधनका लागि वैकल्पिक मार्गको रूपमा बेलबास–नुवाकोट–दोभान सडक प्रयोग गर्न सुझाव दिएका छन्। यात्रुहरूलाई जोखिम न्यूनीकरणका लागि बाटोको अवस्थाबारे बुझेर मात्र यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।