मंसिर १७, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाली समकक्षी डा. हरिणी अमरसुरियाबीच टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा श्रीलंकाका प्रधानमन्त्री अमरसुरियाले नेपालबाट २ लाख अमेरिकी डलरबराबरको सहायता प्राप्त भएकामा आभार व्यक्त गरेकी थिइन् ।
नेपाल सरकारले श्रीलंकामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका लागि दुई लाख अमेरिकी डलर सहयोग प्रदान गरेपछि श्रीलंकाली प्रधानमन्त्री अमरसुरियाले टेलिफोन गरी भनिन्- ‘हामी कहाँ विपद् परेका बेला सहयोग पठाइदिनुभयो । यसका लागि धन्यवाद छ । आभारी छौँ ।’
जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्- ‘छिमेकी हुनुको नाताले एउटालाई समस्या पर्दा अर्काले साथ दिनुपर्छ। त्यो हाम्रो कर्तव्य र धर्म नै हो। यो कठिन घडीसँग जुध्नका निम्ति हामी तपाईँहरुसँगै छौँ ।’
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलन र त्यसपछि मुलुकमा उत्पन्न परिस्थितिका विषयमा पनि जानकारी गराएकी थिइन् । दुवै देशका प्रधामन्त्रीबीच बुधबार साँझ सवा ८ बजे करिब ४ मिनेट कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।