मंसिर १७, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेको छ । बुधबार (मंसिर १७) सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी सो पार्टीले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचन निष्पक्ष, धाँधलीरहीत, शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका निम्ति वातावरण बनाउन ध्यानाकर्षण गराएको हो ।

निर्वाचनमा विदेशमा रहेका मतदाताहरूले पनि मत हाल्न पाउने अधिकारको पनि सुनिश्चित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नेता सुदन किराँतीले बताए । त्यसैगरी १८ वर्षमा नै निर्वाचनमा उम्मेदवार बन्न पाउने कानुनी व्यवस्था गर्न पनि सरकारसँग सो पार्टीले माग गरेको छ ।
‘जेनजी’हरूले उठाएका जायज माग सम्बोधन गर्नुपर्ने, भदौ २४ गतेको घटनालाई संक्रमणकालीन न्यायको सिद्धान्तको आधारमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्नेलगायतका मागहरू पनि आफूहरूले सरकारसँग राखेको किराँतीले बताए ।
यस्तो छ नेता किराँतीको भनाइ :
‘जेनजी’हरूले उठाएका न्यायपूर्ण मागलाई पूरा गरियोस् भन्ने हाम्रो माग छ । भाद्र २४ गतेको प्रकृति र विशिष्ट परिस्थितिमा भएका घटनाहरूलाई निष्पक्ष र पूर्वाग्रहरहीत तवरले छुट्टयाई अभियोजन गर्नैपर्ने घटनालाई मात्रै अभियोजन गर्ने र अन्य घटनालाई संक्रमणकालीन न्यायका आधारभूत सिद्धान्त अनुरुप सम्बोधन गरियोस् लगायतका हाम्रा माग छन् ।
आर्थिक तथा सामाजिक न्याय सम्बन्धमा यो कृषि क्षेत्रमा ठूलो बजेट विगतमा हिनामिना भएको छ । त्यसको खोजबिन होस् । समयमा किसानले मल बिउ पाओस् । कोभिडपछाडि जसरी आर्थिक मन्दी भयो । साना व्यापारीहरूलाई एक ढंगले ऋणको पासो लागेको छ । उनीहरूलाई राहत दिइयोस् । यो सहकारी ठगी, मिटरब्याजी र लघुवित्तमा राजनीतिक संरक्षण पाएर बेइमानहरूले नागरिकलाई दुःख दिएको छ । त्यसको पनि उचित छानबिन गरी छिटोभन्दा छिटो कानुनको दायरामा आउनुपर्छ भन्ने हाम्रो माग छ ।
वैदेशिक रोजगारमा जानेहरूलाई श्रम स्वीकृति गर्ने झञ्झटिलो प्रथाको अन्त्य होस् । भ्रष्टाचारविरोधी र सुशासन संस्थागत गर्ने भ्रष्टाचारसम्बन्धी छानबिन गर्न एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरियोस् । यो जेनजीहरूको माग पनि थियो । भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गरियोस् ।
फागुन २१ गतेको निर्वाचन सम्बन्धमा घोषित निर्वाचन निष्पक्ष, धाँधलीरहीत शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका निम्ति सरकारको तर्फबाट वातावरण बनाइयोस् । विदेशमा रहेका मतदाताहरूलाई पनि मतदान गर्ने अधिकारको सुनिश्चित गरियोस । १८ वर्षमा नै निर्वाचनमा उठ्न पाउने व्यवस्था गर्न पनि माग गरिएको छ । न्युज एजेन्सी नेपाल