असोज १७, काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुनी प्रभाव तीव्र हुँदै गएको भन्दै रातिको समयमा आवागमन नगर्न आम नागरिकलाई अनुरोध गरेको छ। प्रशासनले एक अत्यावश्यक सूचना जारी गर्दै विशेषगरी असोज २० गतेसम्मको अवधिमा सम्भव भएसम्म यात्राबाट टाढा रहन आग्रह गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीद्वारा बिहीबार राति जारी सूचनामा उल्लेख गरिएको छ कि मौसम प्रतिकूल भइरहेका कारण काठमाण्डौबाट बाहिर जाने वा बाहिरबाट काठमाण्डौ प्रवेश गर्ने व्यक्तिहरूले रातिको समयमा यात्रा नगर्नु उपयुक्त हुनेछ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार शुक्रबारदेखि असोज २० गतेसम्म काठमाण्डौ उपत्यकामा भारी वर्षाको सम्भावना रहेको छ। यससँगै पहिरो, बाढी, भू-क्षयजस्ता विपद्जन्य घटनाहरूको जोखिम उच्च भएकाले विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।
साथै, आकस्मिक उद्धार, सहयोग वा राहत आवश्यक परेमा जिल्ला प्रहरी परिसर काठमाडौंका सम्पर्क नम्बरमा तुरुन्त सम्पर्क गर्न पनि सूचनामा उल्लेख गरिएको छ। जिल्ला प्रशासन कार्यालयले जोखिम न्यूनिकरण तथा जनजीवनको सुरक्षालाई ध्यानमा राख्दै सबै नागरिकलाई आफ्नै स्थानमा सुरक्षित रूपमा रहन, अत्यावश्यक नपरेसम्म लामो दूरीको यात्रा नगर्न र प्रशासन तथा मौसम विभागद्वारा जारी सूचनाहरूको पालना गर्न अनुरोध गरेको छ।
