मंसिर १६, काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतको आदेश अनुसार बुधबार दिउसो १ बजे विश्वासको मत लिने गरि व्यवस्था गर्न प्रदेश सभामा पत्र पठाएको जानकारी दिएका हुन् । यादवले आफुले विश्वासको मत पाउने दाबि गर्दै आफुले बुधबार विश्वासको मत लिने बताएका हुन् । यादवले आफुले सर्वोच्चको आदेश नपाएपछि आफ्नै अनुरोधमा प्रतिलिपि मगाएर विश्वासको मत लिन बैठक राखिदिन प्रदेश सभालाई आफुले पत्र लेखेको बताएका हुन् । उनले आफुले दलहरुसँग छलफल मै रहेको र भोली बिहानसम्म दलहरु पनि विश्वासको मत दिने नदिने स्पष्ट हुने बताएका छन् ।
२- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न मस्को पुगेका छन् । रुसको सरकारी समाचार एजेन्सीका अनुसार, विटकफ मस्को पुगेका छन्, जहाँ उनले रुसका प्रमुख वार्ताकार किरिल दिमित्रीभसँग भेट गर्नेछन् । विटकफले त्यसपछि रुस-युक्रेन युद्ध अन्त्य गर्ने बारेमा छलफल गर्न राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट गर्नेछन् । पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले ट्रम्पका ज्वाइँ जेरेड कुशनर पनि वार्तामा भाग लिने बताएका छन् । यो बैठक युक्रेनी र अमेरिकी अधिकारीहरू बीचको दुई दिनको वार्तापछि हुन लागेको हो, जुन अमेरिकाको २८ बुँदे शान्ति योजनालाई सुधार गर्न केन्द्रित थियो, जुन रूसको लागि लाभदायक मानिएको छ ।
३- गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित कार्यक्रमबीच एक दिवसीय सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी कैलालीको धनगढीमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा गृहमन्त्री अर्यालले जनताहरूलाई सुरक्षाको अनुभूति दिन, प्रभावकारी सेवा प्रवाह र सुशासन स्थापित गर्न यो गोष्ठी सफल हुने विश्वास व्यक्त गरेका थिए । विधिको शासन र भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अबलम्बन गर्दै आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सरकारको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै देखिएका सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरूबीचको सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने उनले बताए । सीमित स्रोत र साधनको बाबजुद सुरक्षा निकायहरूले निर्वाह गरेका कार्यहरू प्रशंसनीय रहेको चर्चा गर्दै सुरक्षा निकायहरूलाई अझ व्यावसायिक र साधन स्रोत सम्पन्न बनाउन आफ्नो साथ र सहयोग निरन्तर रहि रहने समेत उनले बताए । सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की र सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्यालले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गरेका थिए ।
४- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसमेत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले कटहरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साहसमेत ७ जना र सरिता फाउण्डेसन काठमाडौंविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिएको हो । तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, सहायक लेखापाल विवेक कुमार सहनी,सहायक स्तर पाँचौं राम नरेश प्रसाद यादव,सहायक कम्प्युटर अपरेटर उमेश कुमार दास,खरिदार कौशल किशोर चौधरी र छोटेलाल मिश्रविरुद्ध मुद्दा दायर भएको हो । यसैगरी आयोगले सरिता फाउण्डेसन काठमाडौं र सरिता फाउण्डेसनका निर्देशक सरिता कुमारी साहलाई विपक्षी बनाएको छ । आर्थिक वर्ष २०७७/०७८ को नगरसभाबाट बजेट स्वीकृत नगराई सरिता फाउण्डेनको नाममाचेक काटी मिलेमतोमा रकम हिनामिना गरेको आरोपमा रहेको छ । अख्तियारले उनीहरूविरुद्ध जनही ९ लाख ९८ हजार ९२१ रुपैयाँ विगो र कानुन अनुसारको सजाय माग गर्दै मुद्धा दायर गरेको जनाएको छ ।
५- अस्ट्रेलियाली अलराउन्डर क्रिकेटर ग्लेन म्याक्सवेलले डिसेम्बर १६ मा अबुधाबीमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामीबाट आफ्नो नाम फिर्ता लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आइपिएलको अक्सनमा सहभागी नहुने बताएका हुन् । म्याक्सवेलले भनेका छन्- ‘धेरै यादगार आईपीएल सिजन पछि, मैले यस वर्ष लिलामीमा प्रवेश नगर्ने निर्णय गरेको छु । यो ठूलो निर्णय हो ।’ ३७ वर्षीय म्याक्सवेलले २०१२ देखि २०१९ बाहेक हरेक आईपीएल सिजनमा खेलेका थिए । उनले १४१ खेलमा केवल २,८१९ रन बनाएका छन्। उनको स्ट्राइक रेट १५५ भन्दा बढी छ, तर उनको औसत २४ भन्दा कम छ । उनले आइपिएलमा ४१ विकेट पनि लिएका छन् । उनले आइपीएलमा दिल्ली, मुम्बई, पञ्जाव, रोयल च्यालेन्जर्स बैंगलुरुबाट खेलेका थिए ।
६- तीन पटक बंगलादेशकी प्रधानमन्त्री तथा राष्ट्रवादी पार्टी (बीएनपी)की अध्यक्ष खालिदा जियाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनलाई उपचारका लागि ढाकाको एभरकेयर अस्पतालमा भर्ना गरिएको छ । उनको बिग्रँदो अवस्थालाई ध्यानमा राख्दै, पाँच सदस्यीय चिनियाँ विशेषज्ञ टोली सोमबार ढाका आइपुगेको र त्यसै राति अस्पतालको उपचार प्रक्रियामा सामेल भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । टोलीले उनको स्वास्थ्यबारे छलफल गर्न अस्पतालको मेडिकल बोर्डसँग भेट गरेको थियो । अस्पतालका मुटुरोग विशेषज्ञ तथा बोर्डका प्रमुख डा. शहाबुद्दिन तालुकदारले खालिदा जियाको अवस्था अस्थिर रहेको र उनी हाल उपचारका लागि विदेश यात्रा गर्न अयोग्य रहेको बताए । ८० वर्षीया खालिदा जियालाई नोभेम्बर २३ मा मुटु र फोक्सोको संक्रमणका कारण अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा निरन्तर बिग्रँदै गएपछि, उनलाई चार दिनपछि कोरोनरी केयर युनिटमा सारिएको थियो । उनी आइतबार रातिदेखि भेन्टिलेसनमा छिन् । यसैबीच, बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था गम्भीर रहेको कारण अस्पताल बाहिर सुरक्षा बढाइएको छ । बिरामीहरूको आवागमन र सुरक्षालाई नियमित गर्न प्रहरीले अस्पतालको मुख्य ढोकामा ब्यारिकेडहरू खडा गरेको छ । खालिदा जिया वरपरका सबै कोठाहरू खाली गराइएको छ । उनको सुरक्षाको लागि, बंगलादेशको अन्तरिम सरकारले उनलाई धेरै महत्त्वपूर्ण व्यक्ति घोषित गरेको छ। यसपछि, अस्पतालमा विशेष सुरक्षा बल (एसएसएफ) का कर्मचारीहरू तैनाथ गरिएको छ ।
७- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेता जीवन बहादुर शाहीसमेतले आपूर्तिकर्ता कम्पनी तथा उक्त कम्पनीका पदाधिकारीहरुलाई वाईडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले दिएको सफाईविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले वाईडबडी विमान खरिद गर्दा बदनियत राखी विमान भन्दा बढी तौलको भुक्तानी गरेर अनियमितता गरेको जनाएको छ । विशेष अदालत काठमाडौँ २०८१ को मङ्सिरमा पुर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित २० जनालाई सफाई दिएको थियो । अख्तियारले वाईडबडी खरिदमा एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ रुपैयाँ बिगो कायम गरी गत २०८० को चैत २२ मा शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा विशेष अदालतले निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जना कर्मचारी र बिक्रेता कम्पनीका सात जना विदेशी दोषी ठहर गरेको थियो भने अन्य सबैले सफाइ पाएका थिए ।
८- नेप्सेमा सामान्य गिरावट देखिएको छ । मंगलबार नेप्से ०.५३ अंकले घटेर २६४४. ७० विन्दुमा पुगेर रोकिएको छ । आज ३२४ कम्पनिका एक करोड ८ लाख १० हजार १०६ कित्ता शेयर ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार १४९ मा कारोबार भएको थियो । आज बैंक, विकास बैंक, फाइनान्स, हाइड्रो, उत्पादन, माइक्रो फाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुंग इनर्जी र श्रीनगर एग्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी ग्रीन भेन्चर लिमिटेडको शेयर ९.८५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको ३१ करोड ८१ लाख कारोबार भएको छ भने माउन्टेन इनर्जीको २२ करोड ९४ लाखको कारोबार भएको छ ।
९- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले पहिलो जित हासिल गरेको छ । मंगलबार सम्पन्न खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो । चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । जनकपुरका लागि माज सदाकतले ६३ र अनिल शाहले ६१ रन रन बनाएका थिए । त्यस्तै आसिफ सेखले १८ र जान निकोलले ११ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको चितवन राइनोजले २० ओभरमा ४ विकेट गुमाएर १७७ रन बनाएको थियो । चितवनका लागि डेभिड मलानले सर्बाधिक ८० रन बनाएका थिए भने अर्जुन साउदले ५२ रन बनाएका थिए । त्यस्तै कप्तान कुशल मल्लले अविजित ३० रन बनाए भने सैफ जैबले ७ र रवि बोपाराले ३ रन बनाएका थिए । त्यस्तै जनकपुरका बलर माज सदाकत, अनिल शाह, रुपेश सिंह र जान निकोलले एक एक विकेट लिएका थिए । जनकपुरको यो पाँच खेलमा पहिलो जित हो भने चितवनले पाँच खेलमा २ जित र ३ हार बेहोरेको छ ।
१०- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पतालको निरीक्षण गरेका छन् । मन्त्री घिसिङले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा निर्माण गरिरहेको दुई सय शैयाको अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिस्तरको बाल अस्पतालको निरीक्षण गरेका हुन् । मन्त्री घिसिङले सोमबार कियोजबाट झापाको दमकमा सञ्चालित बाल अस्पतालको पनि निरीक्षण गरेका थिए । अस्पतालको मुख्य भवन निर्माण निर्माण अन्तिम चरणमा छ । मन्त्री घिसिङले अस्पतालको निर्माणाधीन भवन तथा विभिन्न संरचना र निर्माण प्रगतिका बारेमा कियोचका अध्यक्ष डा कोइरालासँग छलफल गर्नुकासाथै स्थलगत निरीक्षण गरेका थिए । उक्त अस्पताल निर्माणका लागि सरकारले करिब ४१ रोपनी जग्गा भाडा (लिज)मा उपलब्ध गराएको थियो । संघीय सरकारले भवन बनाउ र उपकरण खरिदका लागि करिब ११ करोड र बागमती प्रदेश सरकारले १ करोड रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय गरेका छन् । उनले बालमृत्युदर उच्च रहेको कर्णाली प्रदेशमा अस्पताल निर्माणका लागि पहल भइरहेको उल्लेख गरे । डा. कोइरालाले सात प्रदेशमा बाल अस्पताल निर्माण गर्ने घोषणा गरेका थिए ।
११- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफू सत्ता त्याग्न तयार रहेको बताएका छन् । मिडिया रिपोर्टका अनुसार, मादुरोले नोभेम्बर २१ मा ट्रम्पसँग फोनमा कुरा गरेको र उनले ट्रम्पलाई सुरक्षित बाटोको लागि अनुरोध गरेको बताइएको छ । उनले अमेरिकाले उनलाई र उनको सम्पूर्ण परिवारलाई पूर्ण कानुनी उन्मुक्ति दिएमा आफू सत्ता त्याग्न तयार रहेको बताएको उल्लेख गरिएको छ । उनले सबै प्रतिबन्धहरू हटाउन, आफूविरुद्धको अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मुद्दा बन्द गर्न र भ्रष्टाचार, लागूपदार्थको तस्करी र मानवअधिकार उल्लङ्घनका लागि उनका १०० भन्दा बढी अधिकारीहरूमाथि लगाइएको प्रतिबन्ध हटाउन पनि माग गरेका छन् । ट्रम्पले सबै सर्तहरू सिधै अस्वीकार गरेको र मादुरोलाई आफ्नो परिवारसँग जहाँ चाहियो त्यहाँ जानको लागि केवल एक हप्ताको समय दिएको रिपोर्टमा उल्लेख छ । त्यो एक हप्ताको समयसीमा गत शुक्रबार समाप्त भएको बताइएको छ । समयसीमा सकिएपछि, ट्रम्पले अचानक भेनेजुएलाको सम्पूर्ण हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन् । ट्रम्पले नोभेम्बर २३ मा मादुरोसँग कुरा गरेको बताए, तर थप विवरण दिन अस्वीकार गरेका छन् । ह्वाइट हाउसले पनि यस विषयमा अहिलेसम्म कुनै जानकारी प्रदान गरेको छैन । यो कुराकानी अमेरिकी नौसेनाले क्यारिबियन र प्रशान्त महासागरमा २१ वटा सैन्य कारबाही गरेपछि भएको थियो । अमेरिकाले यी डुङ्गाहरू भेनेजुएलाको लागूपदार्थ तस्करी गर्ने गिरोहसँग सम्बन्धित रहेको दाबी गरेको छ, जसलाई अमेरिकाले आतंकवादी संगठनको रूपमा तोकेको छ । यी आक्रमणहरूमा अहिलेसम्म कम्तिमा ८३ जनाको मृत्यु भइसकेको छ । ट्रम्पले आवश्यक परेमा अमेरिकी सेना भेनेजुएलालाई आक्रमण गर्ने चेतावनी दिदै आएका छन् ।
१२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता-कार्यकर्तालाई पार्टीले निर्णय नगरेसम्म उम्मेदवारी घोषणा नगर्न सचेत गराएको छ । पार्टीका नेता तथा कार्यकर्ताले आफू नै आधिकारिक उम्मेदवार भएको घोषणा गर्न थालेपछि रास्वपाको उम्मेदवार छनौट समितिले सचेत गराएको हो । समितिले रुपन्देही-३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा उम्मेदवार तय भएकोले अन्य क्षेत्रमा टुंगो लाग्न बाँकी रहेको उम्मेदवार छनोट समितिले स्पष्ट गरको छ ।
१३- नेपाली बजारमा आज सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ३ सयले घटेर तोलाको २ लाख ५३ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ५३ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर ३५४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३५३५ मा कारोबार भएको थियो ।
१४- युक्रेनमा युद्ध अन्त्य गर्न रुससँगको शान्ति वार्ताको बारेमा बोल्दै, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशको प्राथमिकता युक्रेनको सार्वभौमसत्ता कायम राख्नु र बलियो सुरक्षा ग्यारेन्टी प्राप्त गर्नु भएको बताएका छन् । जेलेन्स्कीले क्षेत्रीय सीमाको मुद्दा सबैभन्दा कठिन रहेको बताउदै रूसले युक्रेनले अझै पनि नियन्त्रण गरेको पूर्वी डोनबासका क्षेत्रहरू त्याग्न माग गरिरहेको बताएका छन् । युक्रेनले यी क्षेत्रहरू कहिल्यै त्याग्ने छैन भन्छ । जेलेन्स्कीले पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेट गरेपछि यो बयान दिएका हुन्, जहाँ उनले बेलायत, जर्मनी, पोल्याण्ड र इटाली लगायत धेरै युरोपेली नेताहरूसँगको वार्तामा भाग लिएका थिए । यसैबीच, युक्रेन र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिहरूले फ्लोरिडामा दुई दिनको बैठकहरू सम्पन्न गरेका छन्, जसले शान्ति योजनाको संशोधनमा काम गरिरहेका छन् जुन धेरैले रूसको पक्षमा पक्षपाती ठान्छन् ।
१५- निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरेको छ । समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको मंसिर १२ गतेको निर्णयानुसार समानुपातिकतर्फको निर्वाचन अधिकृतमा आयोगका सचिव माहादेव पन्थ तोकिएका छन् । उक्त निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतको रूपमा आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईलाई तोकिएको छ । समानुपातिक निर्वाचन व्यवस्थापनको लागि कुल ४१ जना कर्मचारीहरू कार्यरत रहने आयोगले जानकारी दिएको छ । यसैबीच अर्थमन्त्री रामेश्वर खनाल र कानुनमन्त्री अनिल कुमार सिन्हाले निर्वाचन आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग निर्वाचन पूर्वतयारीको अवस्था र आगामी दिनमा निर्वाचन सम्पन्न गर्नका आवश्यक सहयोगका बारेमा छलफल गरेका छन् । छलफलमा अर्थमन्त्री खनालले निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक पर्ने बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे भने मन्त्री सिन्हाले निर्वाचन सम्पन्न गर्नको निम्ति आवश्यक कानूनी सहायता उपलब्ध गराउने कुरा राख्दै निर्वाचन सम्पन्न गर्ने कार्यमा स्वदेशी वस्तु र उत्पादनको प्रयोग गर्न आयोगलाई अनुरोध गरेका थिए ।
१६- कुवेतबाट हैदराबाद जाँदै गरेको इन्डिगो एयरलाइन्सको उडानमा बमको धम्की आएको छ । धम्कि पछि जहाजलाई मुम्बई डाइभर्ट गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । रिपोर्टका अनुसार, हैदराबाद विमानस्थललाई इमेल मार्फत धम्की दिइएको थियो, जसमा जहाजमा मानव बम रहेको उल्लेख गरिएको थियो । सो धम्किपछि जहाज मुम्बई विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरियो, जहाँ यात्रुहरूलाई ओरालेर विमानको निरीक्षण गरिएको थियो । उडानलाई विमानस्थलको आइसोलेसन क्षेत्रमा सारिएको थियो र सुरक्षा टोलीहरू खटाइएको थियो । हाल, निरिक्षणका जहाजमा बम फेला नपरेको बताइएको छ ।
१७- हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा— कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती—देव एण्ड सायर—भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि उक्त जेभीसँग २ माघ २०७८मा ५२ करोड ७० लाख रुपैयाँमा (करसहित) ठेक्का सम्झौता भएको थियो । सडक निर्माण साउन २०८१ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति करिब १८ प्रतिशत मात्र छ । ठेक्का सम्झौता २०८३ असारसम्म थप गरिएकोमा पटक—पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको हो । ठेक्का सम्झौता रद्ध गरिएका निर्माण व्यवसायीकले कार्य सम्पादन जमानत वापतको १६ करोड ९४ लाख र पेश्की २ करोड ३१ लाख १ करोड ७१ लाख रुपैयाँ जफत गरिने छ । पेश्की रकममा १० प्रतिशत व्याजसहित असुल हुनेछ । निर्माण व्यवसायीयले अनुमानित लागतभन्दा करिब ५० प्रतिशत कम रकम कबोल गरेको थियो । योजना कार्यालय इटहरीबाट गत साउनमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको हो । निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्त बुझ्नो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लङ्गन गरिएको जनाइएको छ । ऐनको प्रावधान बमोजिम कार्य सम्पादन जमानत वापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असूल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ । हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्याकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । निर्माण व्यवयासी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापचाँच गरिनेछ ।
१८- इजरायलले दक्षिणी गाजा शहर रफाहमा सुरुङमा फसेका ४० हमास लडाकुहरूलाई मारेको दाबी गरेको छ । इजरायली सेनाले सशस्त्र लडाकुहरूलाई हटाउन रफाहमा सुरुङहरू नष्ट गरिरहेको बताएको हो । गत हप्ता सुरुङहरू भित्र ४० भन्दा बढी लडाकुहरू मारिएका थिए । इजरायलले पहिले रफाहमा धेरै लडाकुहरूलाई मारेको र पक्राउ गरेको दाबी गरेको छ । यद्यपि, हमासले यी दावीहरूको जवाफ दिएको छैन । इजरायली मिडिया रिपोर्टहरूका अनुसार, लगभग २०० हमास लडाकुहरू विगत नौ महिनादेखि (मार्चदेखि) राफाहमा भूमिगत रूपमा फसेका छन् । हमासको मागको बाबजुद, इजरायलले उनीहरूलाई बाहिर निस्कने बाटो नदिने बताउदै आएको छ । रफाहमा रहेका हमास लडाकुहरू, जो विगत ७-८ महिनादेखि सम्पर्कविहीन रहेको रिपोर्ट गत महिना बाहिर आएको थियो । नोभेम्बर ६ मा, हमासले हमासका लडाकुहरूलाई सुरक्षित रूपमा भाग्न अनुमति दिने सम्झौताको प्रस्ताव राखेका थिए तर इजरायलले यसमा सहमति जनाएको थिएन । युद्धविराम सम्झौता अन्तर्गत, लडाकुहरूको रिहाइको बदलामा, हमासका लडाकुहरूले आफ्ना हतियारहरू आत्मसमर्पण गर्नेछन् र गाजा मुनि रहेका सुरुङहरूको बारेमा पूर्ण जानकारी प्रदान गर्नेछन्, जसले गर्दा इजरायलले तिनीहरूलाई नष्ट गर्न सक्नेछ । गाजामा जारी युद्धविरामलाई जोगाउन यो प्रस्ताव अमेरिका र कतारलाई जानकारी गराइएको थियो । हमासले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । इजरायलले पनि आतंककारीहरूसँग सम्झौता नगर्ने भन्दै प्रस्ताव अस्वीकार गरेको छ ।
१९- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्बजनिक गरिएको छ । ह्वाइटहाउसले जारी गरेको जानकारीमा ७९ वर्षीय ट्रम्पको मुटु र पेटको एमआरआई ‘पूर्ण रूपमा सामान्य’ भएको बताएका छन् । ह्वाइट हाउसका चिकित्सक क्याप्टेन सीन बार्बाबेलाले ट्रम्पले अक्टोबरमा आफ्नो नियमित मेडिकल जाँचको क्रममा यो एमआरआई गराएको र सामान्य रहेको उल्लेख गरिएको छ । यो रिपोर्ट यस्तो समयमा आएको छ, जब केही डेमोक्र्याटिक नेताहरूले ट्रम्पको उमेरका कारण दोस्रो कार्यकालमा उनको स्वास्थ्यमाथि प्रश्न उठाइरहेका छन् र स्क्यान विवरणहरू सार्वजनिक रूपमा जारी गर्न माग गरिरहेका छन् । डा. बार्बाबेलाले ट्रम्पको धमनीहरूमा रक्त प्रवाह साँघुरो वा अवरोधको कुनै प्रमाण फेला नपरेको र उनको मुटु वा प्रमुख रक्तनलीहरूमा कुनै असामान्यताहरू फेला नपरेको रिपोर्टमा उल्लेख गरेका छन् । उनले समग्रमा, ट्रम्पको हृदय प्रणाली ‘अत्यन्त स्वस्थ’ देखिएको आफ्नो निष्कर्षमा बताएका छन् ।
२०- अक्सफोर्ड युनिभर्सिटी प्रेसले ‘रेज बेट’ लाई २०२५ को वर्षको शब्दको रूपमा छनोट गरेको छ । ‘रेज बेट’ भनेको अनलाइन सामग्री हो, जुन जानाजानी मानिसहरूलाई रिस उठाउन, उत्तेजित पार्न वा रिस उठाउनको लागि डिजाइन गरिएको हो । यदि तपाईं सामाजिक सञ्जालमा स्क्रोल गर्दा रिसाएको अनुभव गर्नु भयो भने तपाईं ‘रेज बेट’ को शिकार हुनु हुन्छ । अक्सफोर्डका अनुसार, विगत १२ महिनामा यो शब्दको प्रयोग तीन गुणा बढेको छ । ‘रेज बेट’ ले आरा फार्मिङ र बायोह्याकलाई उछिन्दै ‘बर्ष शब्दको उपाधि जितेको छ । त्यस्तै ‘अराको फार्मिङ’ भनेको तपाईंको व्यक्तित्वलाई आकर्षक, रहस्यमय वा अत्यन्तै आत्मविश्वासी देखिने गरी आकार दिनु हो । त्यस्तै ‘बायोह्याक’ ले आहार, व्यायाम, जीवनशैली, वा प्राविधिक माध्यमहरू मार्फत तपाईंको शारीरिक वा मानसिक क्षमताहरू बढाउने अभ्यासलाई जनाउँछ । यी तीन शब्दहरूमा सार्वजनिक मतदान गरिएको थियो, र त्यसपछि भाषा विशेषज्ञहरूले अन्तिम निर्णय गरेका थिए ।