असोज १६, काठमाडौं । भोलीदेखी मनसुनी गतिविधि थप सक्रिय हुने भएपछि २० गते सोमवारसम्म कृषि बाली नकाट्न र काटिसकेको भए भित्रयाइहाल्न कृषि बिज्ञले सुझाएका छन् । कृषि मौसमविद् रामेश्वर रिमालले यो बेला किसानले विशेष ध्यान दिनसके बालिनाली जोगाउन सकिने र त्यसका लागि हालै जारी बुलेटिनलाई ध्यान दिन अनुरोध गर्नुभएको छ । उहाले मनसुन सक्रिय रहने समयमा तरकारीबाली, फलफूल बगैँचा तथा पाँक्न लागेका धानखेतमा पानी निकासको उचित व्यवस्था गर्न, विषादी छर्कने कार्य रोक्न, नदी, खोलाछेउका संरचनाहरू बाढीको जोखिममा पर्नसक्ने हुनाले सम्भव भएसम्म भण्डारणमा रहेका तथा अन्य सामग्री सुरक्षित ठाँउमा व्यवस्थापन गर्न भन्नुभएको छ ।

जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै ठूलो पानी पर्दाको समयमा कृषिकर्म गर्दा ध्यान दिन अनुरोध गरेको छ । भोलीदेखि तीन दिनसम्म मनसुन सक्रिय रहने देखिएकाले धानबालीमा हुने सम्भावित क्षति न्यूनीकरणका लागि धान नकाट्न, काटेको भए भित्र्याइहाल्न, अग्लो ठाउँमा भण्डारण गर्न, विभिन्न तरकारीबालीको नर्सरीमा पानी जमेर बेर्ना कुहिन सक्ने भएकाले पानी निकासको प्रबन्ध गर्न पनि अनुरोध गरिएको छ । उहाँका अनुसार वर्सातको समयमा मौरीलाई चरन क्षेत्रको कमी हुने भएकाले चिनी चास्नी बनाएर खुवाउन, पशुबस्तुलाई पानीमा भिज्ने गरी नराख्न, दानालाई सफा र ओभानो ठाउँमा भण्डारण गर्न, भिजेका र बाढी पसेका ठाउँका घाँस, पराल, दाना वा अन्न नखुवाउन पनि अनुरोध गरिएको छ ।
यस्तो अवस्थामा पशुबस्तुलाई पाचन प्रणाली र पाँचन प्रणालीजन्य रोगका लक्षण देखिन सक्ने हुँदा त्यसबारे चनाखो भई अनुगमन गर्न पनि भनिएको छ । चिसो ठाउँमा भण्डारण गरेको दानामा ढुसीको सङ्क्रमण हुनसक्ने र यसले गर्दा विष उत्पन्न भई पशुहरु मर्न सक्नेतर्फ ध्यानाकर्षण गराएको छ । पशुका खोर चिसो र हिलो भएको अवस्थामा कुखुरामा जुम्रा, सुलसुलेजस्ता बाह्य परजीवीको समस्या देखिने हुँदा दैनिक रूपमा खोरको अनुगमन गर्न, परजीवी देखिएमा दक्ष प्राविधिकको सल्लाह लिन, माछा पोखरीमा धमिलो पानी मिसिन नदिने लगायतका उचित व्यवस्था गर्न पनि अनुरोध गरिएको छ ।
यस्तै, जल तथा मौसम विज्ञान विभागबाट जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिन अध्ययन गरी त्यहीअनुसार व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ ।