आज वि.सं. २०८२ श्रावण १७ गते शनिवार तदनुसार ई. सं. २०२५ अगस्ट ०२ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४५, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४७, चन्द्रोदय : दिउँसो १२:३५ बजे र चन्द्रास्त : मध्यरात्रीपछि १२:१७ बजे, सूर्योदय : बिहान ०५:२७ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे, श्रावण शुक्लपक्ष (गुँलाथ्व) अष्टमी तिथि, बिहान ०५:५९ बजेसम्म, त्यसपछि नवमी तिथि,विशाखा नक्षत्र, (अहोरात्र व्याप्त) चन्द्रमा तुला राशिमा, मध्यरात्रीपूर्व ११:३२ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । व्यक्तित्वमा निखार आउने छ, धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो । तर आत्मकेन्द्रित भइदिनु र आफ्ना बारेमा मात्र सोच्नुले नजिकका आफन्तहरू टाढिने परिस्थिति बन्नसक्छ । काममा भन्दा पनि मन आनन्दप्राप्तिका निमित्त आकर्षित हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । अड्डा/अदालत वा सरकारी काम पूरा गर्न राम्रो समय छ, तर आज झैझगडा र विवाद/बहसबाट जतिसक्दो टाढा बसेको राम्रो हुनेछ । ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मन कल्पना र भावनामा अलमलिन सक्छ । हरेक समय आत्मिक आनन्द र मानसिक शान्तिका लागि प्रयास गर्ने समय हो । आन्तरिक प्रतिभाको प्रस्फूटन हुने राम्रो दिन छ, कला र साहित्यप्रति झुकाव छ भने फुरेको विषयवस्तु टिपोट गर्नुहोला, भविष्यमा काम लाग्नेछ । आज तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुने महत्त्वपूर्ण दिन हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरिघरि मन अशान्त भए झैं लाग्नेछ, तर एक्लै बसेर घोरिनुभन्दा तामेलीमा परेका विषयवस्तुमा ध्यानकेन्द्रित गर्नाले केही फाइदा हुनसक्छ । लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । भविष्यका बारेमा चिन्तन गर्ने समय हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ । माइतीपक्ष वा दिदीबहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । धार्मिक प्रयोजनको काम वा सामाजिक क्रियाकलापमा पनि दौडधूप गर्नुपर्ने दिन हो । मिहिनेतको राम्रो नतिजा प्राप्त हुने समय हो।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । धनप्राप्तिको योग बनेको छ, स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । विपरीत परिस्थितिलाई समेत मोड्न सकिने राम्रो दिन छ, भौतिक उन्नति र सुखसुविधाका सामाग्रीहरू किनमेल गर्न धन खर्च हुनेछ । आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन हो।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ । अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ । कठोर र क्रूर निर्णय लिनुपर्ने कमजोर समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् । सिनियर्सलाई रिझाउन नसके पनि सहकर्मी साथीहरूको सहयोगले कुनै महत्त्वपूर्ण काम सम्पादन हुनेछ । सोखका निमित्त दैनिक खर्चमा बृद्धि हुनसक्छ । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पेसागत स्थितिमा सुधार गर्नुछ भने योजना बनाएर काम थाल्न आजको दिन अनुकूल हुनेछ । अन्य दिनका तुलनामा धेरै खट्नुपर्ने समय हो । आफ्नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
ठूलाबडाको सरसहयोग र सहानुभूति मिल्नेछ । पारिवारिक वातावरण पनि अनुकूल हुनेछ । नयाँ ठाउँको भ्रमण वा अवलोकन हुने समय हो । कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरुका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
जोखिम र सङ्कटले भरिपूर्ण समय हो, यस अवधिमा नैराश्यता, दिकदारी र चिडचिडेपन बढ्नसक्छ । परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्नेछ, साथमा लगानी र दौडधूपको समुचित मूल्यसमेत प्राप्त हुनेछैन । पुराना समस्या बल्झिनाले वा कुनै गोप्य दस्ताबेज बाहिरिनाले तनाव बढ्नसक्ने दिन छ, त्यसैले सचेत र संयम भएर काम गर्नु ठीक हुन्छ । परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ।