जेठ १८, काठमाडौं । नेपाल शेर्पा संघको सातौँ केन्द्रीय महाधिवेशन (२०८१) का लागि अध्यक्ष पदमा तेन्जी शेर्पाले उम्मेदवारी घोषणा गरेका छन्। भोजपुर जिल्ला सदनन्द नगरपालिका–९ निवासी शेर्पा हाल संघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा कार्यरत छन्। समाजसेवा, नेतृत्व क्षमता र संस्थागत विकासका क्षेत्रमा लामो समयदेखिको सक्रियता बोकेका तेन्जी शेर्पाले संघको सुदृढ संरचना निर्माणदेखि समुदायकेन्द्रित कार्यक्रमहरू सञ्चालनमा उल्लेखनीय भूमिका खेलेका छन्। उनकाे कार्यकालमा संघको सभा हल परम्परागत शेर्पा शैलीमा पुनःनिर्माण भएको थियो भने संस्थाको आफ्नै भवन खरिद प्रक्रिया पनि अगाडि बढेको हो।

शान्ति स्तूप ध्यान केन्द्रको स्थापना, ‘शेर्पा ट्रस्ट’ मार्फत सांस्कृतिक भवन निर्माणको अन्तिम तयारी, तथा निजामती स्मारक यज्ञडोलसँग सहकार्य गरी पर्यटन तथा वातावरणीय संरक्षणसम्बन्धी परियोजनाहरूमा समेत उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
शेर्पा समुदायका युवाहरू, महिलाहरू र विद्यार्थीहरूको क्षमताविकास, नेतृत्व सिर्जना र रोजगारीका अवसर विस्तारलाई आफ्नो कार्ययोजनाको केन्द्रमा राखेका शेर्पाले दीर्घकालीन रूपमा “शेर्पा प्रदेश” स्थापनाको अवधारणा अघि सारेका छन्। साथै, शेर्पा भाषा–संस्कृति संरक्षण, जलवायु परिवर्तनको असरको दस्तावेजीकरण, तथा अन्तर्राष्ट्रिय शेर्पा मञ्चहरूसँग सहकार्य विस्तारजस्ता विषयमा उनले स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन्।
उम्मेदवारी घोषणापछि तेन्जी शेर्पाले भने, “मेरो उम्मेदवारी व्यक्तिगत चाहनाभन्दा समुदायको साझा सपना र भविष्यप्रति जिम्मेवारीको प्रतिबिम्ब हो। शक्तिशाली संस्था, स्पष्ट दिशा र साझा नेतृत्व नै हाम्रो समाजको सफलताको मूल आधार हो।”