आज वि.सं. २०८२ ज्येष्ठ १८ गते आइतवार तदनुसार ई. सं. २०२५ जुन ०१ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४५, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४६, चन्द्रोदय : बिहान ०९:५६ बजे र चन्द्रास्त : बेलुका १०:११ बजे, सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५३ बजे, ज्येष्ठ शुक्लपक्ष (तछलाथ्व) षष्ठी तिथि, मध्यरात्रीपछि १२:२३ बजेसम्म, त्यसपछि सप्तमी तिथि,अश्लेषा नक्षत्र, मध्यरात्रीपछि ०२:०५ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, मध्यरात्रीपछि ०२:०५ बजेसम्म, त्यसपछि सिंह राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
हाकिम वा सिनियर कर्मचारीसँग सुमधुर सम्बन्ध कायम हुने दिन हो । आज सानो प्रयासले उच्च स्तरमा पहुँच र स्थान पक्का गर्न सक्नुहुन्छ । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो । आशा देखाउनेहरूले पनि सहयोग गर्ने परिस्थिति बन्दैन।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूर्ण सहयोग मिल्नेछ । नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक परिवर्तन हुनेछ । सामाजिकता र सामूहिक क्रियाकलापमा दिलचस्पी बढ्नाले पुराना साथीभाइ वा दौंतरीको काममा समेत दौडधूप गर्न सकिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ । बोलीमा विशेष सामर्थ्य भएको राम्रो दिन छ । आज आफ्नो रूपविन्यास र साजसज्जाका निमित्त केही धनराशि खर्च गर्ने समय छ । दैनिक आम्दानीमा बढोत्तरी हुनेछ, कतिपय विषयमा बोलीकै भरमा काम सम्पादन हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ । नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ, लाभमूलक काममा कार्यालयबाहिरको काममा पनि खट्न सकिने छ । तर कर्तव्य र जिम्मेबारीप्रति सचेत हुनुपर्छ । रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज त्यस्तो व्यक्तिसँग भेट हुनसक्छ, जससँग बाँकी जीवन बिताउन सजिलो हुनेछ । अवरोध र बाधा सिर्जना हुने तथा अनावश्यक खर्च बढ्ने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पर्द्धीहरू आफैं तर्किएर हिँड्नेछन् । प्रेमी वा जीवनसाथीसँग लामो समयसम्म कुराकानी गरी समय बिताउन सक्नुहुन्छ । पारिवारिक सम्बन्ध, आत्मीयता र प्रेमभावले नयाँ रूप लिने दिन हो । कारोबारमा राम्रै फड्को मार्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ । कुनै कुरामा दुविधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धार्मिक तथा परोपकारी कार्यमा दिलचस्पी जाग्नेछ । आज पुर्याएको सानो सहयोगले कसैले ठूलो उद्धारको अवसर पाउन सक्छ । जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । कुरा काट्नेले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन्, अझ परिवारका सदस्य र आफन्तको गतिविधिसमेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति छ । वातावरण तपाईंको विपक्षमा भएको दिन हो।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कल्पनाशील र भावुक बन्ने दिन हो, फाल्तु कुरामा समय बिताउनुभन्दा काममा ध्यान दिने समय हो । थालेको कामलाई पूर्ण गर्ने प्रयास गर्नुपर्छ, नत्र तपाईंका अपेक्षाहरूमा कमी आउनसक्छ । कार्यक्षेत्रमा सफल हुने दिन हो, तर आफ्नो काममा मात्र एकोहोरिनुभन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शारीरिक थकान र बेचैनीको समय हो, ससाना कुरामा चिन्ताग्रस्त भइने छ, सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत बृद्धि हुने समय छ । व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । टाढा रहेका छोराछोरीमार्फत राम्रो समाचार आउने तथा सुख÷सन्तोष मिल्ने राम्रो दिन छ । आफूले चिताएका हाँके÷ताकेका काम पनि सम्पन्न हुने समय हो ।