बैशाख १८, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो ।

मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय साझेदारी गरे । पहिलो विकेटको लागि १ सय १६ रनको साझेदारी गर्ने क्रममा रायन र रोहित दुवैले अर्धशतक बनाए ।
राजस्थानले पहिलो विकेट झार्न ११ ओभर ५ बल नै कुर्नुपर्यो । ३६ बलमा ५३ रन जोडेर रायन आउट भए । उनले ९ चौका प्रहार गरेपछि थिक्सनाको बलमा आउट भए । ३८ बल खेल्दै ७ चौका र ३ छक्का सहित रोहित ६१ रनमा आउट भए । उनी परागको बलमा क्याच आउट भए ।
यसपछि सूर्य कुमार यादव र कप्तान हार्दिक पाण्ड्याले तेस्रो विकेटको लागि नटआउट ९४ रनको साझेदारी गरे । सूर्य कुमार र हार्दिक दुवैले समान २३ बलबाट समान ४८/४८ रन बनाए । हार्दिकले ६ चौका र १ छक्का प्रहार गरे ।
मुम्बई १२ अंक सहित लिगको तेस्रो स्थानमा छ । मुम्बई सातौं जित निकाल्ने दाउमा छ । संघर्षरत राजस्थानसँग मात्र ६ अंक रहेको छ ।