• २०८३ मङ्सिर ४ गते बिहिवार

सुर्यदेवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस

खबर24नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

आज वि.सं. २०८० चैत्र १८ गते आइतवार तदनुसार ई. सं. २०२४ मार्च ३१ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रास्त : दिउँसो १०:३० बजे र चन्द्रोदय : बेलुका १०:२५ बजे, सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०६:२१ बजे, चैत्र कृष्णपक्ष (चिल्लागा) षष्ठी तिथि, साँझ ०५:३२ बजेसम्म, त्यसपछि सप्तमी तिथि, ज्येष्ठा नक्षत्र, बेलुका ०७:२४ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, बेलुका ०७:२४ बजेसम्म, त्यसपछि धनु राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
\गुप्त र गोपनीय काम वा सीपबाट धनार्जन गर्ने समय हो । अनुसन्धान, गुप्तचर, कुटनीति आदि क्षेत्रमा रहेकाले राम्रो उन्नति गर्नसक्ने समय छ । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ, अतः लक्ष्यप्रति सचेत भई टुप्पी कसेर मिहिनेत गर्ने समय छ । रामरमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ । मनमा नयाँ उमङ्ग पलाउने छ । विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, बरु लोङ टुरको कुनै कार्यक्रममा सँगै जाने वातावरण बनाउनु ठीक हुन्छ । शत्रु र विरोधीहरूसँग डटेर प्रतिस्पर्द्धा गर्ने समय छ । लेखन/सम्पादन, पत्रकारिता, वकालत, कृषिकार्य वा व्यापार गर्नेका लागि राम्रो दिन छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आत्मविश्वासमा बृद्धि हुनेछ तर कामको चाप बढ्ने समय हो, तथापि साथीभाइको सहयोग लिएर काम गरेमा सबै काम पूरा गर्न सकिने छ । लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ । इष्टमित्र र सँगीसाथीको साथ पाइने छ । यो परोपकारी र साहसी काम गर्ने समय पनि हो, तर भाइबहिनीको इच्छापूर्तिका लागि खर्च बढाउनुपर्ने हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा रहने समय छ, त्यसैले परीक्षा वा प्रतियोगितालाई ध्यानमा राखी पठनपाठनमा जुट्ने दिन हो । अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन हो, प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ, बुद्धिकौशल र कुटनैतिक ज्ञानको प्रयोग गर्नाले कुनै महत्त्वपूणर् कार्य सम्पन्न हुनेछ । बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ । धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नयाँ योजना कार्यान्वयन गर्ने दिन हो, दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने र प्रशासनिक तौरतरिका बुझ्ने समय आएको छ । विगतमा गरिएको मिहिनेत र लगनशीलताको पुरस्कार प्राप्त हुने सुन्दर दिन हो।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ । राजनीति वा समाजसेवा नै तपाईंको कार्यक्षेत्र हो भने त पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ । इच्छाएको फाँट वा कार्यालयको जिम्मेवारी प्राप्त हुने दिन हो, कामप्रतिको अभिरुचिका कारण छोटो समयमा कार्यसम्पादन गरी प्रशंसा बटुल्न सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ । सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ । घरैको वा छरछिमेकको कुनै धार्मिक/सामाजिक काममा सहभागी बन्नुपर्ने हुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस